Tuesday, January 14

कोशीमा अढाइ अर्बको पदमार्गमा आधारित चार परियोजना

२३ मंसिर, विराटनगर । कोशी प्रदेशमा चारवटा पदमार्ग निर्माण गरिने भएको छ । स्वीस सरकार विकास सहयोग परियोजना अन्तरगत २ अर्ब ४५ करोड लागतमा चार वटा पदमार्ग निर्माण गरिने भएको हो ।

चार वर्षे परियोजना सञ्चालनका लागि कोशी प्रदेश सरकार र स्वीस दूतावासबीच सम्झौता भएको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्को उपस्थितिमा हस्ताक्षर भएको हो ।

परियोजना अन्तरगत चियाबारी पदमार्ग (इलाम-फिक्कल-श्रीअन्तु ), फाल्गुनन्द पदमार्ग(फिदिम-छिन्ताप्पु-सन्दकपुर-माइपोखरी-इलाम), लालिगुरास पदमार्ग (लुम्लिङटार-खादबारी-नुम-गुफाफोखरी-बसन्तपुर-जलजले-तीनजुरे मिल्के), मुन्दुम पदमार्ग (तावाभन्ज्यनङ-टेम्केडाडा-हासपोखरी-साल्पा पोखरी- सिलिचुङ चुली) पदमार्ग निर्माण हुनेछ ।

चारवटा पदमार्ग २९ वटा पालिकामा निर्माण हुनेछ । चार वटा पदमार्ग ४०० किलोमिटरको हुनेछ । परियोजनाको लागि स्वीस सरकारले १ अर्ब ३५ करोड १५ लाख लगानी गर्नेछ । संघ सरकारले १९ करोड ९२ लाख, कोशी प्रदेश सरकारले ४५ करोड ८७ लाख र २९ वटा स्थानीय तहले ४४ करोड ६७ लाख लगानी गर्नेछन् ।

परियोजनाबाट १ लाख स्थानीयले प्रत्यक्ष रूपमा लाभ लिनेछन् । पदमार्गको निर्माण तथा पुनः निर्माण क्रममा ४ लाख दिन बराबरको रोजगारी सिर्जना गर्ने बताइएको छ । एक हजार जनालाई पर्यटन सम्बन्धी सीप विकासका लागि तालिम दिइनेछ ।

पदमार्गमा होमस्टे, लज, र अन्य आतिथ्य सेवाको विकास गर्ने लक्ष्य रहेको बताइएको छ । चार वर्षको अवधिमा आन्तरिक तथा वाह्य गरि ७८ हजार पर्यटकले पदमार्ग क्षेत्र भ्रमण गर्ने अनुमान गरिएको छ । पदमार्गहरुमा पर्यटन सँग सम्बन्धित २,००० नयाँ रोजगारी सिर्जना अपेक्षा गरिएको छ ।

सम्झौता हस्ताक्षरका क्रममा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश विकासको मुख्य आधार पर्यटन रहेको बताए । चारवटा पदमार्ग पर्यटन क्षेत्रमा गेम चेन्जर परियोजना बन्ने बताए । विश्वलाई चिनाउनका लागि पर्यटन क्षेत्र महत्वपूर्ण हुने उनको भनाइ छ ।

२०८२ साललाई पर्यटन वर्ष घोषणा गरेको बताउँदै उनले पदमार्गले पर्यटन वर्ष मनाउन महत्त्वपूर्ण हुने बताए ।

नेपालमा छिमेका देशका १ प्रतिशतलाई आकर्षित गर्न सके १० वर्षमा धेरै परिवर्तन गर्न सकिने बताए । नकारात्मक विरोधलाई रोकेर पर्यटन क्षेत्रलाई धेरै माथि लैजान सकिने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *