Monday, December 23

भ्रष्ट्राचार र अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन : गृहमन्त्री लेखक

२४ मंसिर, सुर्खेत । गृहमन्त्री रमेश लेखकले भ्रष्ट्राचार र अपराध नियन्त्रणमा कुनै पनि सम्झौता नगर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् । सोमबार कर्णाली प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले व्यावसायिकतामा सम्झौता नगरी काम गर्न सुरक्षा निकायलाई निर्देशन दिएका हुन् ।

‘अपराध गर्नेहरू सबै कानुनी दायरामा आउनु पर्छ । भ्रष्ट्राचार र अपराध नियन्त्रण हाम्रो पहिलो प्राथमिकता हुनुपर्छ,’ मन्त्री लेखकले भने, ‘निष्पक्ष, पारदर्शी र व्यावसायिकतामा कुनै हालतले कमी हुनुभएन र यससँग सम्झौता पनि हुन सक्दैन ।’

उनले सरकारी सेवा प्रवाहमा समस्या रहेको भन्दै त्यसलाई थप सुदृढ बनाउन समेत १० वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकाय प्रमुखहरू निर्देशन दिए । ‘जनतामा डेलिभरीको समस्या छ । महँगी नियन्त्रण, सड्क दुर्घटना, लागु औषध नियन्त्रणदेखि गिटीबालुका उत्खनन रोक्ने सम्मका जिम्मेवारी हाम्रो काँधमा छ,’ उनले भने, ‘हामी सबै चनाखो भएर काम गर्नुपर्ने छ ।’

उनले लोकतन्त्र अनुशासनको पद्त्ति भएको तर अराजकताको व्यवस्था नभएको बताए । पछिल्लो समय व्यक्तिको चरित्र हत्या गर्ने, विभिन्न जाति, धर्म र क्षेत्रको बिचमा दोष गर्ने खालका गतिविधि बढेको भन्दै त्यसलाई नियन्त्रण गर्नेतिर केन्द्रीत हुन् सुरक्षा निकायलाई निर्देशन दिए ।

अपराध गर्ने सबै कानुनको दायरा भित्र आउनुपर्ने उनले बताए । सेवा प्रवाह गर्दा ख्याल गर्न उनले सुरक्षा निकायलाई निर्देशन दिए । ‘सेवाग्राहीको काम कसरी नहुने भन्दा पनि कसरी हुने भन्ने कुरामा ध्यान दिनुहोस्,’ प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिँदै उनले भने, ‘अबको एक महिना भित्र नयाँ कार्य योजना र एजेन्डा दिनुहोस् ।’

गृहमन्त्री लेखकले देशमा अस्थिरता बढेपछि कांग्रेस र एमालेले गठबन्धन गरेर सरकार बनाएको बताए । मुलुकमा काँग्रेस र एमालेले विशेष परिस्थितिमा गठबन्धन गरेर सुःखद परिणाम प्राप्त गरेको इतिहास रहेको भन्दै उनले अहिले पनि स्थिर सरकार र समीकरणका लागि दुवै दल मिलेको बताए ।

‘हामी स्थिर सरकारका लागि एक ठाउँमा उभिएका हौँ । एक दुई जनालाई मन्त्री बनाउन सरकारमा गएका हैनौँ,’ उनले भने, ‘देशमा अस्थिरताका कारण अराजकता मच्चिने स्थिति आयो । त्यसका लागि दुई ठुला दलहरू एक ठाउँमा आउनु परेको हो ।’

उनले इतिहासमा काँग्रेस र एमाले मिल्दा नरुकुंश पञ्चायत व्यवस्था ढलेको, सशस्त्र सङ्घर्षलाई मिलेर शान्तिमा रूपान्तरण गरेको र राजाले निरुकुंता लाद्दा मिलेरै मुलुकमा लोकतन्त्र स्थापना गर्दै संविधान बनायाको दाबी समेत गरे ।

सुर्खेतको वीरेन्द्रनगरमा कर्णाली प्रदेशस्तरीय सुरक्षा गोष्ठी सोमबारदेखि सुरु भएको छ । गोष्ठीमा सहभागी हुन गृहमन्त्री लेखकसँगै गृहसचिव गोकर्णमणी दुवाडी, तीनै तहका सुरक्षा निकायका प्रमुख सुर्खेत पुगेका छन् । गोष्ठीमा प्रदेशसँगै कर्णालीका १० वटै जिल्लाका सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहेको छ ।

गोष्ठीमा प्रदेशको शान्ति सुरक्षाको विषयमा छलफल हुने छ । योसँगै प्रदेशको बढ्दो सवारी दुर्घटना र यसको न्यूनीकरणको उपायबारे पनि छलफल हुन बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *