Wednesday, December 25

रविलाई मध्यरातमा अड्डासार : कांग्रेस बैठकमा उठ्यो विषय

२४ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई चितवनबाट राति पोखरा लगिएको विषय उठेको छ ।

सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा सोमबार बिहान बसेको कार्यसम्पादन समिति बैठकमा उक्त विषयले प्रवेश पाएको हो ।

बैठकमा सहभागी एक नेताका अनुसार नेताहरू कृष्णप्रसाद सिटौला र अर्जुननरसिंह केसीले रास्वपा सभापति लामिछानेको स्थानान्तरण प्रक्रियाका सन्दर्भमा बाहिर आएका विषय उठाएका थिए ।

पार्टीले यो विषयलाई ‘नोटिस’ मा राख्नुपर्ने उनीहरूले धारणा राखेको ती नेताले जानकारी गराए ।

हिरासतमा भएको व्यक्तिलाई पोखरा पुर्‍याउने क्रममा अपनाइएको विधि प्रति दुई नेताले प्रश्न उठाएका थिए ।

नेताहरूले उक्त विषयमा जानकारी खोजेपनि गृहमन्त्री रमेश लेखक बैठकमा उपस्थित नभएकाले उनको धारणा सुन्न नपाइएको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

गृहमन्त्री लेखक सुरक्षा गोष्ठीका लागि आइतबार वीरेन्द्रनगर गएका छन् ।

रास्वपा सभापति लामिछानेलाई चितवनबाट पोखरा लाने क्रममा भएको प्रक्रिया प्रति नेता डा. शेखर कोइरालाले यसअघि नै असन्तुष्टि व्यक्त गरेका छन् । गत शनिबार नेता कोइरालाले रास्वपा सभापति लामिछानेलाई राति १२ बजे उठाएर लग्नु मानवअधिकार विपरीतको घटना भएको बताएका थिए । ‘यो रवि जीको मात्रै कुरा होइन । कसैलाई पनि गर्नुहुन्न । हाम्रो देश लोकतान्त्रिक देश हो । सुरक्षा दिन गाह्रो भयो भनेर उम्कन पाइँदैन । त्यो विल्कुल गलत हो,’ उनले भनेका थिए ।

चितवनबाट पोखरा पुर्‍याइएको घटनामा सोधपुछ गर्न प्रहरी प्रमुख (आईजी) वसन्तबहादुर कुँवरलाई राष्ट्रिय मानव अधिकार आयोगले सोमबार बोलाउँदा उनी उपस्थित भएनन् । रविमाथि हिरासतमै मानव अधिकार उल्लघंन भएको भन्दै बयानका लागि बोलाइए पनि सोमबार कुँवर उपस्थित नभएको आयोगका प्रवक्ता टिकाराम पोखरेलले बताए । कुँवर आफू उपस्थित नभएर अपराध अनुसन्धान विभागका एआईजी टेकप्रसाद तामाङ, सचिवालयका डीआईजी दानबहादुर कार्की र प्रहरीकै मानव अधिकार शाखाका एसपी मोहनकुमार थापालाई आयोगको कार्यालयमा पठाएका थिए ।

यो पनि पढ्नुहोस
रविलाई मध्यरातमा अड्डासार : आयोगमा गएनन् प्रहरी प्रमुख कुँवर
सभापति लामिछानेलाई २० मंसिर राति चितवनबाट पोखरा पुर्‍याएको विषयमा रास्वपाले राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दिएको थियो । सरकारी कार्यलाई रास्वपाले अमानवीय, अपमानजनक तथा गैरन्यायिक चाल भएको जनाएको छ । सरकारको यो कर्मले नागरिकको नैसर्गिक मानवअधिकार हनन हुन पुगेको आयोगमा दिइएको उजुरीमा छ ।

सहकारीको रकम अपचलन आरोपमा २ कात्तिकमा पक्राउ परेका लामिछानेलाई छ पटकसम्म म्याद थपिएको छ । उनी विरुद्ध पक्राउ पुर्जी जारी भएका स्थान पोखरा, काठमाडौं, बुटवल, नारायणगढमा बयान दिएका छन् । सोमबार लामिछानेलाई पक्राउ पुर्जी जारी भएको स्थान पर्सामा बयानका लागि पुर्‍याइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *