२५ मंसिर, काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल भारततर्फ प्रस्थान गरेका छन् । भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीको औपचारिक निमन्त्रणमा उनी भारतको भ्रमणमा गएका हुन् ।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार, दुई देशका सेना प्रमुखलाई एकअर्काको देशमा मानार्थ जनरलको दर्ज्यानी चिह्न दिएर सम्मान गर्ने प्रचलन अनुरुप सिग्देल भारत गएका हुन् ।
यसअघि भारतीय सेनाध्यक्ष द्विवेदीले नेपालमा आएर राष्ट्रपति रामचन्द्र पौडेलबाट मानार्थ जनरलको सम्मान लिइसकेका छन् ।
भारत भ्रमणका क्रममा प्रधानसेनापति सिग्देलले भारतका उच्च पदस्थ पदाधिकारीसँग भेटघाट गर्नुका साथै भारतीय सैनिक प्रतिष्ठानमा तालिमरत अधिकृत क्याडेटहरुको अन्तिम कवाजमा समेत सहभागिता जनाउनेछन् ।