२६ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार तेह्रथुमको आठराई गाउँपालिका–४ इवामा नवनिर्मित प्रणामी माध्यमिक विद्यालयको उद्घाटन गरे । इवा प्रधानमन्त्री ओलीले बालापन बिताएको गाउँ हो ।
सोही ठाउँमा बनेको प्रणामी माध्यमिक विद्यालयमै प्रधानमन्त्रीले आफ्नो आधारभूत शिक्षा लिएका थिए । ओलीले विद्यालयका विद्यार्थी, शिक्षक र स्थानीयसँग केहीबेर अन्तक्रिया गरे ।
उद्घाटनपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले अधिकांश समय आफ्नो बालापनको स्मरण गर्नमा खर्चिए ।
लगभग आधा घण्टा सम्बोधन गरेका ओलीले आफू अध्ययन गर्ने बेलाको विद्यालय, त्यतिबेला आफ्नो पढाइ, शिक्षकका गतिविधि लगायतका विषयमा बोले ।
उनले आफूले पढ्ने बेलामा नै अंग्रेजी भाषा पढाइ हुन थालिसकेको पनि स्मरण गरे । प्रधानमन्त्रीको भनाइमा, त्यतिबेला सबैभन्दा पढ्न नजानिने र पढाउन नजान्ने विषय भनेको ‘हिन्दी’ थियो ।
उनले त्यतिबेलाका पाठ्यपुस्तकमा पनि हिन्दी भाषा र भारतकै नेतृत्वको बारेमा लेखिएको स्मरण गरे ।
‘त्यसबेला हामी विद्यार्थी हुँदा, हिन्दी पढाइन्थ्यो । त्यसमा हमारे प्रधानमन्त्रीके नाम पण्डित जवाहरलाल नेहरू हे भनेर लेखेको हुन्थ्यो,’ प्रधानमन्त्री ओलीले भने, ‘हामी त्यहीँ पढ्थ्यौं । जाँचमा हमारा प्रधानमन्त्रीका नाम क्या हे ? भन्ने प्रश्न आयो भने नेपालका प्रधानमन्त्रीको लेखेर हुँदैन थियो ।’
प्रणामी माध्यमिक विद्यालयका विद्यार्थीसँग संवाद गर्दै प्रधानमन्त्री केपी शर्मा ओली (तस्वीर : रवीन्द्र काफ्ले/रासस)
प्रधानमन्त्री ओलीले त्यतिबेला अंग्रेजी भाषामा विद्यालय कमजोर नभएको पनि बताउँदै दार्जलिङबाट शिक्षकहरू आएर पढाउने गरेको बताए ।
‘यो त्यस्तो कमजोर विद्यालय होइन । यही विद्यालयमा ४ कक्षा पढ्दा मैले अंग्रेजी सिकेको हुँ । हाम्रा शिक्षक र शिक्षिकाहरू अंग्रेजी पढेर आएका थिए, दार्जलिङबाट आएका थिए,’ प्रधानमन्त्री ओलीले स्मरण गरे, ‘शिशु र एक कक्षाबाहेक अरुतिर भित्र आउँ सर भन्नलाई ‘माइकमिङ’ सर भन्नुपर्छ भन्ने थाहा थियो । त्यो के भनेको कसरी भनेको भन्ने थाहा थिएन । अनि हामी बच्चाहरूले ‘माइकमिङ सर’ भन्थ्यौं । एस, कम अन भन्थे । अनि हामी भित्र जान्थ्यौं ।’
उनले आफू कक्षा चारसम्म पहिलो विद्यार्थी भएको र अहिले पनि रेकर्ड हेर्दा थाहा हुने दाबी गरे ।
प्रधानमन्त्री ओलीले आफूले कक्षा ४ मा पहिलो भएपछि प्रमाणपत्र लिन आयोजित कार्यक्रमको एउटा रमाइलो किस्सा पनि सुनाए ।
प्रधानमन्त्रीकै भनाइमा यस्तो थियो त्यतिबेलाको रमाइलो किस्साः
४ कक्षामा म जहाँसम्म मलाई लाग्छ म फस्र्ट नै थिएँ होला । विद्यालयको रेकर्ड हे¥यो भने पनि थाहा हुन्छ कि ? एकपटक मलाई अलिक अप्ठेरो लागेको थियो, एकातिर शिक्षकहरू प्रमाणपत्र दिन र परीक्षाको नतिजा सार्वजनिक गर्न बसेका थियौं । फस्ट हुने विद्यार्थी अगाडि आउनु भनेको, नाम नबोलाइकन म अगाडि गइहालेछु । अनि सबै हाँसे । अनि सरले प्रमाणपत्र दिनु त कता हो कता, तिम्रो नाम नै बोलाएको छैन जाउ उता भनेर फिर्ता पठाउनुभयो । अनि गएँ । लाइनमै उभिएँ । एकछिनपछि मेरो नाम बोलाउनुभयो । अघि पनि सुनेरै गएजस्तो लागेको, अब जाउँ कि नजाउँ भनेर अलमल भयो । अरु साथीहरूले पनि जाउ भनेर घचेडेपछि प्रमाणपत्र लिन गएँ ।