Monday, December 23

नेपालकै पहिलो ‘इन्टिलिजेन्ट ट्राफिक लाइट’ कुपन्डोलदेखि जावलाखेलसम्म, सवारीको संख्या अनुसार बल्छ बत्ती

१ पुस,काठमाडौं । अबदेखि ललितपुर पुल्चोकमा ट्राफिक प्रहरीले सिठ्ठी फुकेर हातले इशारा गर्दै गाडी रोक्ने, पठाउने गर्नु नपर्ने भएको छ ।

आज सोमबारदेखि ललितपुरका मुख्य सवारी चाप हुने सडकमा ट्राफिक लाइटले सवारीसाधन संख्या हेरेर रातो र हरियो बत्ती बल्छ । कारण हो– ‘आर्टिफिसियल इन्टिलिजेन्स’ जडित ट्राफिक लाइट ।

ललितपुर महानगरपालिकाले इन्टिलिजेन्स ट्राफिक लाइट सोमबारदेखि औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ । महानगरका प्रमुख चिरीबाबु महर्जनले पुल्चोकस्थित महानगर कार्यालय अगाडि चोकमा राखिएको लाइटको स्विच अन गरेर उक्त लाइट उद्घाटन गरे ।

महानगरले कुपन्डोलदेखि जावलाखेलसम्म पाँच ठाउँमा यस्ता लाइट जडान गरेको छ । पहिलो चरणमा पुल्चोकमा दुई, कानदेवता स्थानमा एक, दमकल चोकमा एक र जावलाखेलमा एक गरी पाँचवटा लाइट जडान गरिएको सहरी विकास योजना महाशाखा प्रमुख तथा यो परियोजनाका प्रमुख डिभिजनल इन्जिनियर श्रीकुमार महर्जनले जानकारी दिए ।

कसरी चल्छ ?

इन्टिलिजेन्स प्रणालीमा आधारित यी लाइटले जतापट्टि धेरै सवारीसाधन संख्या हुन्छ, त्यतैतिर हरियो बत्ती बाल्छन् ।

‘लाइटसँगै राखिएको भेइकल डिटेक्टर मेसिनले सडकमा सवारीसाधन संख्या तत्काल रिड गरेर तत्कालै ट्राफिक लाइटको चिप तथा सर्भरलाई जानकारी गराउँछ ,’ ललितपुर महानगर प्रहरी प्रमुख सीताराम हाछेथु भन्छन्, ‘सोही आधारमा सिस्टमले जता धेरै सवारीसाधन छन्, त्यतातिर हरियो बत्ती बाल्छ ।’

कार्यालय समयमा काठमाडौं तर्फका ट्राफिक लाइटमा यात्रुले धेरै समय कुर्नुपर्ने भए पनि ललितपुरमा धेरैमा ३०–५० सेकेन्ड मात्रै पर्खे पुग्ने उनले बताए ।

‘यो लाइट स्वचालित भएकाले अन्य परम्परागत ट्राफिक लाइटभन्दा फरक र सजिलो छ  । योसँगै राखिएको भेइकल डिटेक्टरले सवारीसाधनको नम्बर तथा विवरण रिड गर्छ,’ उनले भने, ‘सिस्टमले नै कुन दिशातर्फ कति टाइमिङ चाहिने हो, आफैं सेट गर्छ  । हाल यसको मनिटरिङ सिस्टम ट्राफिक कार्यालयमा राखिएको छ ।’

ट्राफिक लाइट प्राविधिक सुयोषक्त माथेमाका अनुसार यो लाइट फिक्स, पुलिस म्यानुअल, सिंक्रोनाइजेसन, एटीसीएस लगायत आवश्यकता अनुसार मोडमा प्रयोग गर्न सकिन्छ । यसमा पाँच वर्षसम्म डेटा स्टोर हुन्छ । यो लाइटले सवारीसाधन र दुर्घटनाको रेकर्ड समेत राख्छ ।

नेपालमै नयाँ, ५ वर्षलाई जिम्मा

महानगर प्रमुख चिरीबाबु महर्जनले ट्राफिक व्यवस्थापन गर्न यो लाइट जोडिएको बताए । यो नेपालमै पहिलो भएको उनको भनाइ छ ।

लाइट जडान गरेको नमुना पावर ग्रेड जेभीले सुरुमा १ सय १७ स्थानमा सम्भाव्यता अध्ययन गरे पनि हाललाई धेरै ट्राफिक हुने स्थानमा यो लाइट जडान गरिएको नगरप्रमख महर्जनले बताए । पाँच वर्षसम्म महानगरले मर्मत गर्नुपरे एक पैसा पनि खर्च नलाग्ने बताए ।

‘ट्राफिक लाइटबीच भलाकुसारी हुन्छ, स्टपेज टाइम बढाउने, ग्रिन टाइम बढाउने घटाउने सन्दर्भमा कुराकानी हुन्छ,’ उनले भने, ‘नयाँ सिस्टम भएकाले जनचेतना आवश्यक छ ।’

जनचेतना जगाउन नगर प्रहरी र स्कुलका विद्यार्थीलाई महानगरले परिचालन गर्ने बताए । नगर प्रमुख महर्जनले अर्को वर्ष चक्रपथ बाहिरका वडाका प्रमुख सडकमा पनि यो ट्राफिक लाइट जडान गर्ने जानकारी दिए ।

६४ स्थानमध्ये ३५ ठाउँमा बल्छ ट्राफिक लाइट

उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक सञ्जयबहादुर राउतले प्रविधिमैत्री नहुँदा धेरै जनशक्ति सडकमा खटिनुपरेको बताए । ६४ स्थानमा ट्राफिक लाइट भए पनि विभिन्न कारण ३५ स्थानमा मात्रै सञ्चालनमा रहेको जानकारी दिए ।

ललितपुर महानगरले जडान गरेको इन्टिलिजेन्ट ट्राफिक लाइटले प्रभावकारी ट्राफिक व्यवस्थापन हुने, यात्रुको जोखिम न्यूनीकरण, व्यवस्थित सहरीकरण, दिगो विकासका लागि महानगरले जडान गरेको ट्राफिक लाइटले सहयोग पुग्ने बताए ।f

Leave a Reply

Your email address will not be published. Required fields are marked *