Monday, December 23

लुम्बिनीका विहार र होटल व्यवसायीबीच ८बुँदे सहमति

४ पुस, बुटवल । लुम्बिनी क्षेत्रका होटल व्यवसायी र बौद्ध विहारबीच लामो समयदेखि जारी विवाद अन्त्य गर्न ८ बुँदे कार्यविधिमा सहमति भएको छ ।

लुम्बिनी गुरुयोजना क्षेत्रभित्र रहेका विहार गुम्बाहरुमा तीर्थयात्रीहरुलाई होटलमा जस्तै सुविधा दिएर राखेकोलगायत विषयलाई लिएर लामो समयदेखि विवाद हुँदै आएको थियो ।

लुम्बिनी विकास कोषको नेतृत्वमा लुम्बिनी होटल संघ, लुम्बिनी सांस्कृतिक नगरपालिका र जिल्ला प्रशासन कर्यालय रुपन्देहीको रोहबरमा होटल र विहारका विषयमा देखिएका समस्याहरु समाधान गर्ने गरी कार्यविधि तयार भएपछि उत्पन्न विवाद र असमझदारी अन्त्य भएको हो ।

बुधबार लुम्बिनी क्षेत्रबाट प्रतिनिधित्व गर्ने रुपन्देही क्षेत्र न. ५ का प्रतिनिधिसभा सदस्य वासुदेव घिमिरेको उपस्थितिमा लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामासहित होटल व्यवसायी, विहारका प्रतिनिधिहरुको बैठकले ८ बुँदे सहमतिमा हस्ताक्षर गरेसँगै कार्यविधि कार्यान्वयन गर्ने प्रतिबद्धता जनाइएको छ ।

होटेल व्यवसायी र गुम्बा विहारको विषयले अन्तर्राष्ट्रियस्तरमा समेत नकारात्मक प्रचार भएकाले त्यसो हुन नदिन कोषकै नेतृत्वमा लुम्बिनी विहार तथा तीर्थयात्री व्यवस्थापन कार्यविधि २०८१ तयार पारिएको हो ।

कार्यविधि कार्यन्वयनका सम्बन्धमा भएको छलफलमा प्रतिनिधिसभा सदस्य वासुदेव घिमिरेले लुम्बिनीमा गुम्बा विहार र होटल व्यवसायीविचको असमझदारीलाई कार्यविधि बनाएर हल गर्नु निकै सकारात्मक भएको बताए ।

उनले लुम्बिनी अन्तर्राष्ट्रिय पर्यटकीयस्थल भएकाले यहाँ विश्वभरका पर्यटकरुलाई आर्कषित गर्ने गरी वातावरण बनाउनुपर्नेमा जोड दिए । उनले लुम्बिनीमा सरसफाइको समस्या जटिल भएकाले यसतर्फ ध्यान दिन सुझाव दिए ।

दुई पक्ष बीचमा भएको सहमति पूर्ण रुपमा कार्यान्वयन गर्न लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. लामाले निर्देशन दिएका छन् ।

उनले लामो समयदेखि होटल व्यवसायी र गुम्बाविहारका बीचको द्वन्द्वले अन्तर्राष्ट्रियस्तरमा लुम्बिनीको गलत सन्देश गइरहेकोमा अब त्यसको अन्त्य भएको बताए ।

उनले कार्यविधि कार्यान्वयन सबै मिलेर गर्नुपर्ने बताए । उपाध्यक्ष डा. लामाले बुद्धजन्मस्थल लुम्बिनीमा विश्वभरका बौद्धमार्गीहरुलाई आकर्षित गर्न सक्नुपर्ने बताउँदै अब आध्यात्मिक वातावरण बनाउनका लागि सबैले हातेमालो गर्नेबेला आएको बताए ।

भिक्षु, लामा गुरुहरु लुम्बिनी आउन पाउँदा निकै खुशी हुने बताउँदै उपाध्यक्ष डा. लामाले सामान्य विवादले पनि अन्तर्राष्ट्रियस्तरमा गलत सन्देश जाने भएकाले सबै सचेत हुनुपर्ने बताए ।

यस्तै लुम्बिनी होटल व्यवसायी संघ नेपालका अध्यक्ष गोविन्द ज्ञवालीले विहार र होटल व्यवसायीविच भएको असमझदारी कार्यविधि बनेसँगै अन्त्य भएको बताए । उनले कार्यविधिको इमान्दारीपूर्वक कार्यान्वयन गर्न आग्रह समेत गरे ।

कार्यविधिले गुम्बा-विहारमा निश्चित संख्यामा भिक्षु, लामा भन्ते, आर्थिक अवस्था कमजोर भएका तीर्थयात्री र चन्दादाताहरुलाई मात्रै राख्ने र होटल व्यवसायीहरुले समेत गुम्बाविहारमा आएका धार्मिक तीर्थयात्रीहरुलाई आत्मिक स्वागत सत्कार गर्ने गरी कार्यविधि तयार पारिएको छ ।

छलफलमा लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई, कार्यकारी सदस्य श्याम रोक्का, वरिष्ठ निर्देशक ज्ञानिन राई, सूचना तथा जनसम्पर्क प्रमुख डा. हरिध्वज राईले दुई पक्षबीचको सहमतिले लुम्बिनीको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने बताए ।

लुम्बिनी होटल संघका अनुसार लुम्बिनीको पर्यटन व्यवसायमा अहिलेसम्म निजी क्षेत्रको १५ अर्ब रुपैयाँ लगानी भएको छ । होटल व्यवसायमा मात्र ७ अर्ब बढी लगानी भएको छ ।

लुम्बिनीमा बनेको गौतमी भिक्षुणी विहारले दैनिक १५० पाहुना राख्न मिल्ने गरी भवन बनाएको छ । यस्तै गोल्डेन टेम्पल म्यानमारले २५०, कम्बोडियाको विहारले २००, महाबोधी सोसाइटीले १२०, थाइ र कोरियन विहारले ३००, बज्रयान बिहारले २०० जना पाहुना एकैपटक राख्न सक्छन् ।

चाइना विहारमा २५०, क्यानेडियन विहारमा १२०, सिंगापुरको विहारमा १०० पर्यटक राख्ने क्षमता छ । निर्माणाधीन कर्मा साम्तेङ विहार र क्वालाम्पुर विहारले धेरै कोठा निर्माण गरिरहेका छन् । जापनिज स्तूपा, तारा फाउन्डेसन (जर्मन), फ्रान्सको विहार, मनाङ समाज स्तूपालगायतका गुम्बाले भने पर्यटक राख्दैनन् ।

विकास कोषको विनियमावलीमा सम्बन्धित देशले आफैंले डिजाइन गरेको गुम्बा-विहार निर्माण र भिक्षुहरूको सहयोगी बस्नका लागि आवश्यक भवन बनाउन सक्ने व्यवस्था छ । तर, गुम्बा सञ्चालकले विनियमावली र कोषसँगको सम्झौतालाई बेवास्ता गर्दै व्यवसायिक प्रयोजनामा लगाएका छन् । मलेसियाले एट्याच बाथरुमसहित १५० कोठाको ६ तले भवन निर्माण गरेको छ ।

लुम्बिनी गुरुयोजना क्षेत्रभित्र विभिन्न राष्ट्र र बौद्ध समुदायलाई विहार-गुम्बा निर्माण गर्न ९९ वर्षका लागि ४२ प्लट उपलब्ध गराइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *