५ पुस, काठमाडौं । भक्तपुर नगरपालिका–२ शहिद खेल मैदान नजिकैको एक घरमा पुस २ गते ३१ वर्षीय नरेन्द्रबहादुर शाहीको चक्कु प्रहारबाट मृत्यु भयो । राति सवा १० बजे अछामको कमलबजार नगरपालिका–६ हात्तिबाच घर भएका शाहीमाथि पेटमा चक्कु प्रहार भएपछि उपचारका लागि भक्तपुर अस्पताल लगिएको थियो ।
उपचारककै क्रममा उनको राति पौने ११ बजे मृत्यु भएको थियो । चक्कु प्रहारबाट मृत्यु भएको सूचना पाएपछि जिल्ला प्रहरी परिसर भक्तपुरको टोली अनुसन्धानमा खटिएको थियो । मृतक शाहीको शव पोष्टमार्टमका लागि काठमाडौं मेडिकल कलेज दुवाकोट पठाएर अनुसन्धान गरेको प्रहरीले तत्कालै मृतक शाहीका बाबु दीपबहादुर शाहीलाई नियन्त्रणमा लियो ।
अनुसन्धानका क्रममा बाबु दीपबहादुर शाहीले नै हत्या गरेको खुलेको भक्तपुरका डीएसपी तथा प्रवक्ता ढुण्डीराज न्यौपानेले बताए । हत्याको कारणमा भने मिर्गौला प्रत्यारोपणको विवाद जोडिएको खुलेको एक अनुसन्धान अधिकृतले बताए । ‘मिर्गौला प्रत्यारोपणको विवाद भएपछि छोराको हत्या गरेको खुलेको छ,’ ती अनुसन्धान अधिकृतले भने ।
छोराको हत्या आरोपमा पक्राउ परेका दीपबहादुरमाथि कर्तव्य ज्यानको कसुरमा अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिए ।
मिर्गौला प्रत्यारोपण गर्न भारतबाट नेपाल आएका थिए नरेन्द्र
मृतक नरेन्द्र करिब एक वर्षअघिसम्म भारतको मुम्बईमा बस्थे । पत्नीसँगै मुम्बईमा बसेर काम गर्दै आएका नरेन्द्रको स्वास्थ्यमा समस्या आयो । भारतमै स्वास्थ्य जाँच गर्दा मिर्गौलामा समस्या देखाएपछि उनी नेपाल फर्केका थिए ।
उपचार गर्न भनेर नेपाल फर्केका उनले भक्तपुरको दूधपाटीस्थित मानव अंग प्रत्यारोपण केन्द्र जाँच गराए । तर दुबै मिर्गौला फेल भएकाले नरेन्द्रले मिर्गौला प्रत्यारोपण गर्नुपर्ने भयो । मिर्गौला प्रत्यारोपण गर्नुपर्ने भएपछि उनले अस्पताल नजिकै शहिद खेलनेर कोठा भाडामा लिएर बस्न थाले । आफ्नो परिवार पनि ल्याए ।
मिर्गौला प्रत्यारोपण गर्न नाताभित्रको व्यक्ति चाहिने भएकाले उनले बाबुको मिर्गौला जाँच गराए, ब्लड टेस्ट पनि भयो । बाबु दीपबहादुरले छोरा नरेन्द्रलाई मिर्गौला दिन मिल्ने र म्याच समेत भएको डाक्टर सुझाए ।
त्यसपछि बाबु दीपबहादुरलाई पनि आफ्नो डेरामै राखै । उमेर ढल्किदै गरेका ६३ वर्षीय बाबुले ३१ वर्षको जवान छोरालाई मिर्गौला दिन राजी भए । जाँच गर्दा पनि म्याच खाएको र बाबुले दिन राजी भएपछि प्रत्यारोपणको मिति पनि तय भयो ।
त्यसपछि अछाममा भएका आमालाई पनि नरेन्द्र घटना हुनु चार दिनअघि मात्रै भक्तपुर बोलाएका थिए । नरेन्द्रका सालो र साँढुदाई पनि मिर्गौला प्रत्यारोपण गर्न भनेर भक्तपुरस्थित नरेन्द्रको कोठामा पुगेका थिए ।
अनि भयो चक्कु प्रहार
मिर्गौला प्रत्यारोपणको मिति नजिकिएसँगै आफन्तहरु नरेन्द्रको कोठामा पुगिसकेका थिए । तर यही बीचमा गडबढी भयो । केहीबेर अघिसम्म मिर्गौला दिन तयार भएका बाबु एकाएक मिर्गौला नदिने ‘मुड’मा पुगे ।
मिर्गौला दिने र लिने दुबै व्यक्ति अस्पताल भर्ना हुनुपर्नेमा बाबु अस्पताल भर्ना हुन मानेनन् । त्यसपछि मिर्गौला प्रत्यारोपणको मिति समेत सारिएको खुलेको एक अनुसन्धान अधिकृतले बताए । ‘सुरुमा जुन दिन प्रत्यारोपणको मिति तय भएको थियो । दिन हुन नसक्ने भन्दै उनीहरुकै अनुरोधमा अस्पतालले मिति समेत पर सारेको खुलेको छ’, एक अनुसन्धान अधिकृतले अनलाइनखबरसँग भने ।
मिर्गौला नदिने बताएपछि बाबुछोराबीच विवाद सुरु भयो । केहीबेर भनाभन चलिरह्यो । २ पुसको राति बिरामी नरेन्द्र खाना खाँदै थिए । विवादले उग्र रुप लिएपछि आवेशमा आएर बाबु दीपले छोरामाथि चक्कु प्रहार गरेको देखिएको प्रहरीले जनाएको छ ।
त्यतिबेला नरेन्द्रका साला र साढुभाई पनि नरेन्द्रकै कोठामा थिए । तरकारी काट्ने चक्कुले एकाएक बाबु दीपले छोराको पटमा प्रहार गरे । सालो र साढुभाइले छुट्याएर नरेन्द्रलाई अस्पताल लगेका थिए । छाती र पेटमा चक्कु प्रहारपछि बिरामी नरेन्द्र गम्भीर घाइते भए । त्यसको करिब डेढ घण्टापछि उपचारको क्रममा उनको मृत्यु भयो ।
नरेन्द्रलाई प्रहार गरिएको चक्कुसमेत भाँचिएको अवस्थामा प्रहरीले बरामद गरेको थियो । अहिले ६३ वर्षीय बाबु दीपलाई भक्तपुर जिल्ला अदालतबाट कर्तव्य ज्यानको कसुरमा ५ दिनको म्याद लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ ।
‘घटना आवेश प्रेरित भएको प्रहरीले जनाएको छ । कुनै मार्ने योजना भन्दा पनि विवाद भएपछि रिस खप्न नसक्दा घटना भएको देखिन्छ’, भक्तपुरका एक अनुसन्धान अधिकृतले भने ।