Thursday, December 26

चुनावी वर्ष बन्दै सन् २०२५, कहाँ-कहाँ हुँदैछ निर्वाचन ?

१० पुस, काठमाडौं । सन् २०२४ सकिएर विश्व नयाँ वर्षमा प्रवेश गर्दैछ । सन् २०२५ मा संसारमा धेरै महत्वपूर्ण राजनीतिक घटना हुने पूर्वानुमान यो वर्ष धेरै देशमा हुने निर्वाचनले पनि संकेत गर्दैछन् ।

सन् २०२४ मा सम्पन्न निर्वाचनले धेरै संकेत गरेकै छन् । क्यानडा, अष्ट्रेलिया, जर्मनी, सिंगापुर, बेलारूस र बंगलादेश लगायतका देशमा हुने आम निर्वाचनले सन् २०२५ चुनावी वर्ष हुनेछ ।

बंगलादेश

सार्क राष्ट्र बंगलादेशमा पनि सन् २०२५ मा चुनाव हुने सम्भावना छ । राजनीतिक अस्थिरताबाट गुज्रिरहेको यस देशको आम चुनावले विश्वको ध्यान खिच्नेछ । हालसालै सम्पन्न विद्रोहपछि बंगलादेशमा शेख हसिनाको अवामी लिग सरकार सत्ता बाहिर भएको छ भने अहिलेको मोहम्मद युनुस नेतृत्वको अन्तरिम सरकारले देश चलाइरहेको छ ।

सत्ता सम्हालेदेखि नै अन्तरिम सरकारलाई चुनावको मिति घोषणा गर्न दबाव बढिरहेको छ। यसैबीच, मोहम्मद युनुसले २०२५ को अन्त्यमा वा २०२६ को सुरुवातमा चुनाव हुने घोषणा गरेका छन्।

देशमा ७ जनवरी २०२४ मा आम चुनाव भएको थियो, जसमा शेख हसिनाले लगातार चौथो पटक जित हासिल गरेकी थिइन्। तर, मुख्य विपक्षी दल बीएनपीले चुनाव बहिष्कार गरेको थियो।

जुलाई-अगस्ट २०२४ मा भएको हिंसाको बीचमा ५ अगस्टमा शेख हसिनाले प्रधानमन्त्री पदबाट राजीनामा दिँदै देश छोडेकी थिइन्।

क्यानडा

प्रधानमन्त्री जस्टिन ट्रुडोको राजनीतिक भविष्य बताउने निर्वाचन सन् २०२५ मै हुँदैछ । क्यानाडाली संघीय चुनाव २० अक्टोबर २०२५ मा वा सोभन्दा पहिले हुन सक्छ। यस चुनावमा क्यानाडाको संसदको हाउस अफ कमन्सका सदस्यहरू चयन गरिनेछ।

ट्रुडोले गत वर्षदेखि लगातार समर्थन गुमाइरहेका छन् । यद्यपि उनी चौथोपटक चुनाव जित्ने प्रयासमा हुनेछन् ।

२०२४ मा भएका सर्वेक्षणहरूले ट्रुडो र उनको लिबरल पार्टीप्रति जनतामा असन्तुष्टि बढेको स्पष्ट देखाउँछ । सर्वेक्षणहरूमा तीन चौथाई क्यानाडाली मतदाताले उनलाई अस्वीकार गरेको देखिन्छ ।

ब्याजदर घटाउने, मुद्रास्फीतिलाई २ प्रतिशत भन्दा तल राख्ने र आवासको मूल्यमा तीव्र वृद्धि जस्ता महत्त्वपूर्ण मुद्दाहरूले ट्रुडोको समर्थन निरन्तर घटिरहेको छ।

सर्वेक्षणमा उनका प्रतिस्पर्धी कन्जरभेटिभ पार्टीका नेताले लिबरललाई २१ अंकको ठूलो अग्रता हासिल गरेका छन्। चुनाव भएको अवस्थामा क्यानडाले नयाँ राजनीतिक नेतृत्व पाउने सम्भावना बलियो छ । हालको सर्वेक्षणले कन्जरभेटिभ पार्टीले संसदमा २१८ सिट जित्दै सहज बहुमत बनाउने सम्भावना रहेको देखाएको छ ।

यस्तोमा ट्रडो नेतृतवको लिबरल ५० सिटमा सीमित हुने अनुमान गरिएको छ। क्यानडाको संसदमा ३३८ सिट रहेको बहुमतका लागि १७२ सिट आवश्यक पर्छ।

अष्ट्रेलिया

अष्ट्रेलियामा २७ सेप्टेम्बर २०२५ मा वा त्यसअघि संघीय चुनाव हुनेछ। यो चुनावमा युवा र स्वदेशी मतदाताहरूले उल्लेखनीय सहभागिता जनाउने संकेत गरेका छन् । विश्लेषकहरूलाई यो चुनावलाई अष्ट्रेलियाली इतिहासमै सबैभन्दा बढी मतदाता सहभागी हुने चुनावका रूपमा भविष्यवाणी गरिरहेका छन् ।

संसदको तल्लो सदन अर्थात् प्रतिनिधि सभाका १५० सिट र माथिल्लो सदन अर्थात् सिनेटका ७६ मध्ये ४० सिटका लागि चुनाव हुनेछ।

प्रधानमन्त्री एन्थनी अल्बानीजको लेबर पार्टी दोस्रो कार्यकालका लागि प्रतिस्पर्धा गर्नेछ, जसको सामना पीटर डटनको नेतृत्वमा रहेको लिबरल-नेसनल गठबन्धनसँग हुनेछ।

जर्मनी

युरोपेली देश जर्मनीका लागि २०२५ चुनावको वर्ष हुनेछ। यहाँ २३ फेब्रुअरी २०२५ मा संसदको तल्लो सदन बुन्डेस्टागका लागि आम चुनाव हुनेछ।

जर्मन चान्सलर ओलाफ स्कोल्जले आफ्नो एसपीडी नेतृत्वमा रहेको गठबन्धन टुटेपछि फेब्रुअरी २०२५ मा बुन्डेस्टागका लागि नयाँ चुनावको घोषणा गरेका छन्।

बेलारुस

युरोपेली देश बेलारुसमा २६ जनवरी २०२५ मा राष्ट्रपति चुनाव हुनेछ । त्यहाँ पनि पाँच वर्षका लागि नागरिकले प्रत्यक्ष मतदान गरी नयाँ राष्ट्रपति चयन गर्नेछन् ।

२०२० मा भएको अघिल्लो चुनावमा वर्तमान राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोलाई विजेता घोषणा गरिएपछि व्यापक रूपमा मतपेटिका धाँधलीको आरोप लगाउँदै विरोध प्रदर्शन भएको थियो। विपक्षी नेतृ स्वियतलानाले चुनाव जितेको दाबी गरेकी थिइन्।

सिंगापुर

एशियाली देश सिंगापुरको संसदका लागि २३ नोभेम्बर २०२५ भन्दा अघि आम चुनाव हुनेछ। २००६ को आम चुनावपछि पहिलो पटक ली सीन लुङ यस चुनावमा सत्तारूढ पीपल्स एक्शन पार्टी (पीएपी) को नेतृत्व गर्दैनन्।

मे २०२४ मा लुङको ठाउँमा लोरेन्स वङ प्रधानमन्त्री बनेका थिए।

अन्यत्र कहाँ कहाँ हुँदैछ चुनाव ?

देश कुन चुनाव
अल्बानिया संसद
बुर्किना फासो संसद
क्यामरुन राष्ट्रपति, संसद
कोटे डी आइवर राष्ट्रपति
चेकिया संसद
मिश्र संसद
गैबन राष्ट्रपति
आइसल्याण्ड संसद
मलावी राष्ट्रपति
नाइजर संसद
नर्वे राष्ट्रपति
पोल्याण्ड राष्ट्रपति, संसद
मोल्दोवा गणराज्य संसद
सेशल्स राष्ट्रपति
श्रीलंका संसद
तञ्जानिया राष्ट्रपति, संसद
टोगो संसद
युगाण्डा राष्ट्रपति, संसद

Leave a Reply

Your email address will not be published. Required fields are marked *