Thursday, December 26

जोरपाटीबाट बरामद ९२ लाखको ‘सुन कनेक्सन’ खोज्दै प्रहरी

११ पुस, काठमाडौं । दुई फरक ठाउँबाट मंगलबार राति ९२ लाख रुपैयाँ नगदसहित तीन जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गर्‍यो ।

अपराध अनुसन्धान कार्यालयको ४ नम्बर पिलरका डीएसपी अनिल घिमिरेको कमान्डमा खटिएको टोलीले ९२ लाख रुपैयाँ नगद सहित तीन जनालाई पक्राउ गरेको थियो ।

पक्राउ पर्नेमा रसुवा घर भएका जीतबहादुर तामाङ, सिन्धुपाल्चोक घर भएका रवीन धमला र सङ्‍खुवासभा घर भएका सन्तोष खाती पक्राउ परेका थिए ।

तामाङ र धमलाको साथबाट ७७ लाख र खातीबाट १५ लाख गरी प्रहरीले ९२ लाख रुपैयाँ बरामद गरेको थियो । उनीहरू काठमाडौंको लोलाङ र जोरपाटीबाट पक्राउ परेका हुन् ।

अवैध सुन कारोबार हुन लागेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो । यो रकम अवैध सुन खरिद बिक्रीको हुनसक्ने देखिएको अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराई बताउँछन् ।

‘अवैध सुन खरिद बिक्रीको रकम भएको आशंकामा अनुसन्धान गरिरहेका छौं । प्रारम्भिक अनुसन्धानमा यसको नेक्सस सुनसँग देखिन्छ,’ एसएसपी भट्टराईले भने ।

पक्राउ परेका मध्ये धमलाको जोरपाटी र रसुवामा सुन पसल रहेको समेत खुलेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *