Sunday, January 5

स्थानीय तह र निकुञ्जहरूले हेलिकोप्टर उडानमा रोक लगाए कारबाही हुन्छ : महानिर्देशक अधिकारी

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले स्थानीय तह र राष्ट्रिय निकुञ्जहरूले हेलिकोप्टर उडानमा रोक लगाए कारबाही गर्ने चेतावनी दिएका छन् ।

मंगलबार नेपाल नागरिक उड्डयन प्राधिकरणको २६ औँ वार्षिकोत्सवको उपलक्ष्यमा प्राधिकरणको वार्षिक प्रगति विवरण प्रस्तुत गरिसकेपछि उठेका प्रश्नको जवाफ दिँदै उनले यस्तो चेतावनी दिएका हुन् ।

गत मंसिरमा सगरमाथा राष्ट्रिय निकुञ्जले निकुञ्ज क्षेत्रमा हेलिकप्टर उडान तथा अवतरणका कारण निकुञ्जको वन, वातावरण तथा वन्यजन्तुको सुरक्षा तथा वासस्थान संरक्षणमा थप चुनौती थपिएको भन्दै व्यावसायिक हेलिकोप्टर उडानमा रोक लगाएको थियो । सोही विषय सम्बन्धित रहेर उठाइएको प्रश्नको जवाफ दिँदै महानिर्देशक अधिकारीले नेपालमा हवाई उडानको अनुमति दिने वा नदिने विषय नागरिक उड्डयन प्राधिकरणले मात्रै दिनसक्ने बताए । नियम विपरीत र कार्य क्षेत्र विपरीत काम भए नेपाल नागरिक उड्डयन प्राधिकरण २०५३ र गैरसैनिक हवाई उडान ऐन, २०१५ बमोजिम राज्यका कर्मचारी, जनताले निर्वाचित गरेका पदाधिकारीलाई कारबाही गर्ने चेतावनी दिए ।

उनले भने, ‘नेपालमा हवाई उडानको होलसोल अथुरिटी भनेको सिभिल एभिएशन हो मात्रै त्यो निकाय हो जसले उडान अनुमति दिनसक्छ । जसले उडान अनुमति रोक्नसक्छ । अब यहाँ गाविसले, राष्ट्रिय निकुञ्जले यो गर्न थालेपछि त अब यो कसको काम के भन्नेकुरा थाहा भएन नि । मेरो अनुरोध छ, उहाँहरूलाई कि नेपाल नागरिक उड्डयन प्राधिकरण २०५३ र गैरसैनिक हवाई उडान ऐन, २०१५ बमोजिम राज्यका कर्मचारी, जनताले निर्वाचित गरेका पदाधिकारीलाई कारबाही गर्ने बाटोतर्फ उहाँहरू जानुहुन्न भन्ने मेरो विश्वास हो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *