Sunday, January 12

इजरायलले गाजामा सम्पूर्ण शिक्षा प्रणालीलाई ध्वस्त पारेको छ : मलाला युसुफजाई

इस्लामावाद । नोबेल शान्ति पुरस्कार विजेता मलाला युसुफजाईले गाजामा इजरायलले अन्तर्राष्ट्रिय कानुन र मानव अधिकारको उल्लङ्घन गरेको भन्दै विरोध गर्न जारी राख्ने बताएकी छन् ।

‘गाजामा इजरायलले सम्पूर्ण शिक्षा प्रणाली नै नष्ट गरेको छ’, पाकिस्तानले आयोजना गरेको र दर्जनौँ देशका प्रतिनिधिहरूले भाग लिएको मुस्लिम राष्ट्रहरूमा बालिका शिक्षा सम्बन्धी विश्वव्यापी शिखर सम्मेलनमा बोल्दै उनले भनिन्, ‘उनीहरूले सबै विश्वविद्यालयमा बमबारी गरेका छन्, ९० प्रतिशतभन्दा बढी विद्यालय ध्वस्त पारेका छन् र विद्यालय भवनहरूमा आश्रय लिइरहेका नागरिकहरूलाई अन्धाधुन्ध आक्रमण गरेका छन् । म इजरायलले अन्तर्राष्ट्रिय कानून र मानव अधिकारको उल्लङ्घन गरेको भन्दै निरन्तर आवाज उठाउनेछु ।’

शिक्षा अभियानका कारण आक्रोशित पाकिस्तानी उग्रवादीहरूले १५ वर्षकी विद्यार्थी हुँदा युसुफजाईमाथि गोली प्रहार गरेका थिए । बेलायत लगिएपछि उनले उल्लेखनीय स्वास्थ्यलाभ गरिन् र १७ वर्षको उमेरमा सबैभन्दा कम उमेरमा नोबेल पुरस्कार विजेता बनिन् ।

“प्यालेस्टिनी बालबालिकाहरूले आफ्नो जीवन र भविष्य गुमाएका छन् । यदि एक प्यालेस्टिनी बालिकाको विद्यालयमा बमबारी गरिन्छ र उनको परिवार मारिन्छ भने उनले आफूले पाउनुपर्ने भविष्य पाउन सक्दिनन्”, उनले भनिन् । गाजामा युद्ध सन् २०२३ अक्टोबर ७ मा हमासको आक्रमणबाट सुरु भएको थियो । आक्रमणमा इजरायली पक्षका अधिकांश सर्वसाधारणसहित एक हजार २०८ जनाको मृत्यु भएको थियो ।

आक्रमणका क्रममा प्यालेस्टिनी लडाकूहरूले २५१ जनालाई बन्धक बनाएका थिए । तीमध्ये ९४ जना अझै गाजा पट्टीमा छन् र त्यसमा पनि इजरायली सेनाले ३४ जनालाई मृत घोषित गरेको छ । गाजामा इजरायलको जवाफी सैन्य कारबाहीमा हमास नियन्त्रित क्षेत्रको स्वास्थ्य मन्त्रालयका अनुसार ४६ हजार ५३७ जनाको मृत्यु भएको छ, जसमा अधिकांश नागरिक छन् । संयुक्त राष्ट्रसङ्घले यी आँकडालाई विश्वसनीय मानेको छ ।

@एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *