३० भदौ, धनगढी । कैलालीमा बेपत्ता बालकसहित दुई जना मृत अवस्थामा फेला परेका छन् । भजनी नगरपालिका र टीकापुर नगरपालिकामा गरेर दुई जना मृत फेला परेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबीन्द्रसिंह बोहोराले टीकापुर नगरपालिका–६ को बेलुबोझीका ८ वर्षीय बालक आरभ चौधरी मृत अवस्थामा फेला परेको जानकारी दिए ।
उनकाअनुसार शनिबार साँझदेखि हराइरहेका चौधरी आइतबार बिहान घर नजिकैको सडक छेउमा रहेको नालामा डुबेको अवस्थामा मृत भेटिएका हुन् । चौधरीको शव परीक्षणका लागि टीकापुर अस्पतालमा राखिएको छ ।
यस्तै, भजनी नगरपालिका-८ को गुडचौरामा लडेको अवस्थामा सोही ठाउँ बस्ने ५५ वर्षीय जयराम डगौरा पनि मृत भेटिएका छन् ।
शनिबार साँझ पसलबाट घर फर्किने क्रममा पानी जम्मा भएको ठाउँमा लड्दा डगौराको मृत्यु भएका जस्तो देखिएको प्रहरीले जनाएको छ । थप अनुसन्धान भने भइरहेको प्रहरीको भनाइ छ ।
@अनलाइनखबर