१६ असोज, सुर्खेत । मध्यपश्चिम विश्वविद्यालय (एमयू)को रजिस्ट्रार पदका लागि १३ जनाको आवेदन परेको छ । रजिस्ट्रार नियुक्तिको लागि विश्वविद्यालयले गत भदौ ३० गते खुला दरखास्त आह्वान गरेको थियो ।
मध्यपश्चिम विश्वविद्यालय ऐन, २०६७ को दफा २५ बमोजिम रजिस्ट्रारको नियुक्ति उपकुलपतिको सिफारिसमा कुलपति (प्रधानमन्त्री) बाट हुने प्रावधान रहेको छ । सिधै नाम सिफारिस गर्न मिल्ने भए पनि उपकुलपति प्रा डा. ध्रुव कुमार गौतमले भदौ ३० गते १० दिने सूचनामार्फत आवेदन मागेका थिए ।
तीन सदस्यीय रजिस्ट्रार सिफारिस समिति गठन गरिएको र सोही समितिले दिएका नाममध्येबाट एक जनालाई नियुक्तिका लागि कुलपतिसमक्ष सिफारिस गर्ने उपकुलपति गौतमले अनलाइनखबरलाई बताए । उनका अनुसार समितिले आवेदकको भिजन पेपर, विषयगत विज्ञता र कार्यानुभवका आधारमा नाम सिफारिस गर्नेछ ।
नयाँ रजिस्ट्रारका लागि १३ जनाको दरखास्त परेको विश्वविद्यालयका उपकुलपति प्रा डा. ध्रुव कुमार गौतमले जानकारी दिए । उनले अबको एक महिनाभित्रै विश्वविद्यालयले नयाँ रजिस्ट्रार पाउने बताए ।
रजिस्ट्रारका लागि आवेदन दिएकामध्ये अधिकांश विश्वविद्यालयकै पूर्व निमित्त रजिस्ट्रार, पूर्व डिनदेखि सह–प्राध्यापक लगायतका छन् ।
पूर्वनिमित्त रजिस्ट्रार तथा शिक्षा शास्त्र संकायका हालका डिन याम बहादुर कार्की, पूर्व परीक्षा व्यवस्थापन प्रमुख, सह–प्राध्यापक आनन्द प्रसाद सुवेदी, व्यवस्थापन संकायका पूर्व सहायक डिन सह–प्राध्यापक अमृत कुमार गैरे र स्कुल अफ ल कार्यक्रम निर्देशक सह–प्राध्यापक अर्जुन बहादुर अयडीले आवेदन दिएका छन् ।
त्यस्तै मध्यपश्चिम विश्वविद्यालय पाठ्यक्रम निर्देशनालयका निर्देशक वीर बहादुर पौडेल, विज्ञान तथा प्रविधि संकायका पूर्व डिन तथा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक देव बहादुर खड्का र शिक्षा शास्त्र संकायका पूर्व डिन तथा महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्ज बाँकेका क्याम्पस प्रमुख लालमणि आचार्य लगायतको रजिस्ट्रार पदका लागि आवेदन परेको छ ।
रजिस्ट्रार सिफारिस समिति आवेदक १३ जनालाई कात्तिक १३ र १४ गते प्रस्तुती र अन्तरवार्ताका लागि बोलाएको छ । मध्यपश्चिम विश्वविद्यालयका रजिस्ट्रार प्रा. डा. नारायण प्रसाद पौडेलको चारवर्षे कार्यकाल सकिएको छ ।
@अनलाइनखबर