इलेक्ट्रोनिक सिगरेट (भेप)को प्रयोग हाल विश्वभर नै व्यापक रुपमा भइरहेको छ । अझ युवाहरुमा यसको प्रयोग अत्याधिक छ । नेपालमा यकिन तथ्यांक नभएपनि युवाहरुमा यसको प्रयोग दिनानुदिन बढ्दै गइरहेको यथार्थ पनि हामी माझ छ । यसको सुरुवात चुरोट छुटाउने माध्यम वा सुर्तीको लतको समाधानको रुपमा भएको देखिन्छ । हाल आएर भने प्रयोगकर्ताहरुले यसलाई मनोरन्जन वा भनौं फरक पहिचानको माध्यमको रुपमा यसलाई प्रयोग गर्ने गरेको देखिन्छ ।
विश्व स्वास्थ्य संगठन तथा विभिन्न अनुसन्धानअनुसार यसमा सुर्तीको लत व्यवस्थापनमा उपयोगी हुने असर खासै छैन, बरु ठीक विपरीत चुरोट सेवन नगर्ने मानिसमा समेत यसले चुरोट सुरु गर्ने माध्यम (गेटवे) को रुपमा भूमिका निर्वाह गरिरहेको छ ।
के हो ई–सिगरेट ?
यो एक प्रकारको विद्युतीय उपकरण हो, जसले तरलरूपमा रहेको सूर्तीजन्य पदार्थ र यसमा प्रयोग भएको वास्ना (फ्लेभर)लाई तताएर बाफमा परिणत गर्छ । प्रयोगकर्ताले यसमा भएको ‘माउथ पिस’बाट उक्त बाफलाई श्वासनली मार्फत सेवन गर्ने गर्छन् । ई-सिगरेट विभिन्न स्वरुप, प्रकार अनि वास्नामा उपलब्ध छ । विभिन्न मूल्यमा पाइने ई-सिगरेटहरु कुनै सुर्तीजन्य तथा कुनै सुर्तीरहित भनेर प्रचार गरिएका छन् । यसैगरी बजारमा उपलब्ध ई-सिगरेटहरु कुनै एक पटक मात्र प्रयोग गर्न मिल्ने हुन्छन् भने कुनै बहुप्रयोग गर्न मिल्ने प्रकारका हुन्छन् ।
कस्तो हानि गर्छ ?
ई-सिगरेटको नियमित प्रयोगले मानव स्वास्थ्यमा थुप्रै स्वास्थ्य जटिलता र हानिहरु उत्पन्न हुन्छन् । मूलत: श्वासप्रश्वास प्रणालीमा विभिन्न समस्या जस्तै लगातार सुक्खा खोकी लागिरहने, दमजस्ता लक्षण देखा पर्ने, घ्यारघ्यार हुने, निरन्तर छाती दुख्ने हुन्छ । कतिपय अवस्थामा यसको बाफको असरले फोक्सोमा गम्भीर असर पर्न गई अति जटिल अवस्था समेत निम्त्याउन सक्छ । तथ्यांकहरुले देखाएअनुसार यसको प्रयोगले विभिन्न खाले मुटुरोगहरु र हर्ट अट्याकको जोखिम समेत उल्लेख्य रुपमा बढाउँछ । यसमा प्रयोग हुने निकोटिनबाट हुने कुलतको असर बाहेक युवा र वयष्कहरुको विकासक्रममा रहेको मस्तिस्कमा यसमा भएका केमिकलहरुको दुष्प्रभावले गर्दा विभिन्न मानसिक समस्या उत्पन्न हुनसक्छ ।
जनस्वास्थ्यमा चुनौती
ई-सिगरेटको सुरुवात जुन उद्देश्यका साथ भएको थियो, त्यो भन्दा भिन्न रुपमा युवा तथा वयष्कमाझ यसको अत्याधिक प्रयोग नै हालको प्रमुख जनस्वास्थ्य चुनौती हो । सन् २०२३ मा अस्ट्रेलियाको तथ्यांक हेर्ने हो भने १७ प्रतिशत भन्दा बढी युवाहरु यसको सेवन गर्छन् । हरेक दुईमध्ये एक जना युवाले आफ्नो जीवनकालमा ई-सिगरेटको प्रयोग गर्ने गरेको देखिन्छ ।
अझै डरलाग्दो त के छ भने १२ वर्ष वा यो भन्दा कम उमेरका बालबालिकाले समेत यसको नियमित प्रयोग गर्ने गरेको पाइएको छ । अस्ट्रेलियाको भिक्टोरिया राज्यमा मात्रै १४ प्रतिशत भन्दा बढी १२ देखि १७ वर्षका बालबालिका यसको कुलतमा फसेका छन् । यीमधये ४८ प्रतिशतले त धुम्रपान समेत गर्दैनन् र केही समयपछि उनीहरु समेत धुम्रपानको कुलतमा फसेका छन् । यी तथ्यांकलाई आधार मान्दा यसले धुम्रपान नै नगर्नेहरुमा समेत धुम्रपान सुरु गर्ने माध्यम (गेटवे) बनिरहेको छ । कतिपय अवस्थामा त प्रयोगकर्ता बालबालिकालाई यसको खराब असर र हानिका बारेमा उपयुक्त ज्ञान समेत नभएको पाइएको छ ।
अर्को चुनौती भनेको यसमा भएका २०० भन्दा बढी रासायनिक तत्वको नियमन हो, जसले फ्लेवरको काम गर्छ । अझै बिर्सिन नहुने त के छ भने सुर्तीरहित भनेर विज्ञापन र बजारीकरण गरिएका ई-सिगरेटमध्ये २१ प्रतिशत भन्दा बढीमा हानिकारक सुर्तीजन्य पदार्थहरु भेटिएका छन् ।
समाधानका उपाय
विश्व स्वास्थ्य संगठनको ‘फ्रेमवर्क कन्भेन्सन फर टोब्याको कन्ट्रोल’मा नेपालको संलग्नतालाई आधार मान्दा ई-सिगरेटलाई सुर्तीजन्य पदार्थकै रुपमा नियमन गर्नुपर्ने देखिन्छ । यद्यपि अस्ट्रेलिया लगायत विभिन्न मुलुकमा यसको नियमनको लागि उक्त फ्रेमवर्कमा भएका भन्दा पनि अझै कडा कानुनी प्रावधान अवलम्बन गरिएका छन् । नेपालमा पनि यसको नियमनसम्बन्धी बहसहरु हुँदै गर्दा जनस्वास्थ्य जोखिमलाई मध्यनजर गर्दै कडा कानुनी व्यवस्था गर्नुपर्ने देखिन्छ । यसले स्वास्थ्यमा पार्ने असरका साथै आर्थिक र सामाजिक जोखिमको समेत बेलैमा उचित व्यवस्थापन गर्नुपर्ने हुन्छ । यसको निर्यात, उत्पादन, बजारीकरण र व्यापारीकरणमा पूर्णत: बन्देज लगाउनुपर्ने देखिन्छ । साथै सार्वजनिक स्थान, विद्यालय, होटेल, रेस्टुरेन्ट लगायत स्थानमा यसको प्रयोग निषेधसम्बन्धी स्पष्ट सन्देश प्रवाह गर्नुपर्ने देखिन्छ ।
नेपालमा ई-सिगरेटको प्रयोग र वास्तविक अवस्थाका बारेमा सरकारी र गैरसरकारी तवरबाट तथ्यांक संकलन तथा अनुसन्धान गर्नुपर्ने देखिन्छ । अन्य देशको तुलनामा हाम्रा युवाहरु कुन तहको जोखिममा छन् भन्ने पहिचान गरी सोही अनुरुपका रणनीतिहरु अवलम्बन गर्नुपर्ने देखिन्छ ।
युवाहरु समेत संलग्न गरी युवालक्षित स्वास्थ्य चेतना तथा जनस्वास्थ्य प्रवर्द्धनात्मक कार्यक्रम निर्माण र अवलम्बन गर्नु आजको आवश्यकता हो । अभिभावक पनि आफ्ना सन्तान यस्तो खालको कुलतका कतै लागेका त छैनन् भन्नेमा सचेत हुन जरुरी छ । शिक्षण संस्था, विद्यालय र होस्टेलहरुमा हुनसक्ने प्रयोगलाई निरुत्साहन गर्न विद्यालयलक्षित चेतनामूलक कार्यक्रम सञ्चालन गर्ने र पाठ्यक्रममै ई-सिगरेटका हानि र दुष्प्रभावबारेका सामग्री समावेश गरी बालबालिका र युवाहरुको ज्ञान अभिवृद्धि र कुलतबाट जोगिने सीपको विकास गर्नुपर्ने देखिन्छ ।
@ONLINEKHABAR
डा. विश्वबन्धु बगाले
बालरोग विशेषज्ञ