Friday, December 27

बन्ला भूल भुलैया ४, के भन्छन् भूषण कुमार ?

नयाँ दिल्ली । अनीस बज्मीको निर्देशनमा बनेको कार्तिक आर्यनको बलिउड फिल्म ‘भूल भुलैया ३’ले हलमा राम्रो कमाइ गरिरहेको छ । रुह बाबाको भूमिकामा फर्किएका कार्तिकले दर्शकहरूबाट निकै माया पाइरहेका छन् ।

यसैबिच, यो लोकप्रिय फ्रेन्चाइजको चौथो पार्टबारे छलफल सुरु भएको छ । अब ‘भूल भुलैया ४’मा अक्षय कुमार पनि आउन सक्ने मिडिया रिपोर्टमा दाबी आइरहेका छन् । साथै, दोस्रो भागमा देखिएकी अभिनेत्री कियारा आडवाणीको पनि इन्ट्री हुन सक्ने भनिएको छ । यसबारे निर्माता भूषण कुमारले केही संकेत पनि दिएका छन् ।

मल्टिस्टार फिल्म हुनेछ भुल भुलैया ४

‘भुल भुलैया ३’को सफलतापछि भुषण कुमारले हरर कमेडी फिल्मको चौथो भाग पनि ल्याउने योजना बनाएको खबर यसअघि नै आएको थियो । अब भुल भुलैया ४ मा कार्तिक आर्यनको साथमा अक्षय कुमार र कियारा आडवाणीले पनि स्क्रिन सेयर गर्न सक्ने मिडिया रिपोर्टमा दाबी गरिएको थियो । भुल भुलैया ३ को रिलिज हुनुअघि नै कियारा आडवाणी र अक्षय कुमार तेस्रो भागमा क्यामियो रोलमा देखिने अनुमान गरिएको थियो । तर यस्तो भएन । अब टी–सिरीजका एमडी र निर्माता भूषण कुमारले भुल भुलैया ४ मल्टिस्टारर फिल्म हुने सम्भावनाबारे कुरा गरेका छन् ।

कहानीमा निर्भर हुनेछ फिल्म

‘सबै कुरा कथामा भर पर्छ,’ भूषण कुमारले भनेका छन् । तर फिल्ममा अक्षय कुमार पनि जोडिने सम्भावना चाहिँ उनले अस्वीकार गरेनन् । ‘सबैलाई एउटै पर्दामा ल्याउन त्यति बेला मात्रै सार्थक हुनेछ जतिबेला कुनै ठोस कहानी होस्,’ उनले भने । यतिबेला भूषण कुमारको हातमा धेरै वटा फिल्म भएको बताइएको छ । उनी चर्चित फिल्मको दोस्रो र तेस्रो भागमा पनि व्यस्त छन् । धमाल ४ पनि विकासको चरणमा छ । यसको छायांकन सन् २०२५ मा सुरु हुन सक्नेछ ।

सजिलो हुनेछैन चौथो भाग

यसबाहेक आगामी तीन वर्षभित्रमा ‘पति पत्नी और वो २’, ‘भुल भुलैया ४’ पनि बन्न सक्नेछ । दुबै फिल्ममा लिड रोलमा कार्तिक आर्यन रहनेछन् । यसअघि निर्देशक अनीस बज्मीले पनि भुल भुलैया ४ बारे कुरा गरिसकेका छन् । भाग ४ ठुलो जिम्मेवारी हुने उनले बताएका थिए । जोसुकैले बनाए पनि यो फिल्म ठुलो जिम्मेवारी हुने र यसलाई पहिलो, दोस्रो र तेस्रो फिल्मसँग सीधै तुलना गरिने उनको भनाइ थियो । ‘यो कसैको लागि पनि सजिलो हुनेछैन । मेरो लागि पनि छैन,’ बज्मीले भनेका थिए ।

बक्स अफिसमा छाएको छ भुल भुलैया ३

‘भुल भुलैया ३’को कुरा गर्दा यसले बक्स अफिसमा राम्रो कमाई गरिरहेको छ । करिब १५० करोड भारुको बजेटमा बनेको यस फिल्मले घरेलु बक्स अफिसमा १४८ करोड ५० लाख भारु कमाइसकेको छ । बक्स अफिसमा यो फिल्मले रोहित शेट्टीको सिंघम ३ सँग प्रतिस्पर्धा गरिरहेको छ । तर कमाईमा कार्तिकको फिल्म अगाडि रहेको देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *