२५ कात्तिक, धनगढी। कैलालीमा पाँच लाख बराबरको अवैध सामान बरामद गरिएको छ। जिल्लाका विभिन्न स्थानबाट पाँच लाख ८५० हजार बराबरको अवैध मालसामान बरामद गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्रसिंह बोहोराले टिकापुर नगरपालिका–९ को ठोके बजार नजिकैबाट चार लाख ४२ हजार ८५० रुपैयाँ बराबरको सामान बरामद गरिएको बताए ।
उनकाअनुसार बरामद गरिएको सामानमा हरियो खुर्सानी, बदाम, छिद्रा माछा र तीन वटा मोटरसाइकल रहेका छन् ।
यस्तै, धनगढी उपमहानगरपालिका–२ र १३ बाट ४७ हजार ६०० रुपैयाँ बराबरको कपडा, सुर्तिजन्य पदार्थहरु र प्लाष्टिक झिल्ली पनि बरामद गरिएको छ ।
भजनी नगरपालिका–७ को शिविर टोलबाट १० हजार चार सय बराबरको चिनी र हरियो खुर्सानी पनि बरामद गरिएको प्रहरीले जनाएको छ।
बरामद गरिएको सबै सामान आवश्यक कारवाहीका लागि भन्सार कार्यालयमा बुझाइएको छ।