Wednesday, December 25

जाजरकोटमा २ दुर्घटना: २८ घाइते, ३ को अवस्था गम्भीर

सुर्खेत । जाजरकोटमा भएका छुट्टाछुट्टै दुई वटा सवारी दुर्घटनामा २८ जना घाइते भएका छन् । सोमबार बिहान करिब १२ बजेतिर भेरी नगरपालिका–१३ कदुमा भएको फोर्स गाडी दुर्घटनामा २५ जना घाइते भएका छन् भने उक्त जिल्लाकै बाउसेखोलामा भएको दुर्घटनामा तीन जना घाइते भएको जाजरकोट प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी, प्रहरी निरीक्षक दिनेश तिमिल्सिनाका अनुसार बा ५ख १८९२ नम्बरको फोर्स गाडी भेरी नगरपालिका–७ स्याउले बजारबाट नेपालगन्जतर्फ जाँदै गरेको उक्त गाडी जाजरकोट–छिन्चु सडकअन्तर्गत कुदुमा दुर्घटना भएको हो । कुदु मध्यपहाडी लोकमार्गको जिरो प्वाईन्ट अन्तर्गत पर्दछन् ।

प्रहरीको इन्ट्रीमा २१ जना देखाएपनि बिचमा अन्य यात्रुहरू थपेको प्रहरी निरीक्षक तिमिल्सिनाले रातोपाटीलाई बताए ।

गाडी सडकबाट ५० मिटर तल खसेको छ । उक्त फोर्समा घाइतेहरूमध्ये केहीलाई कुदुको स्थानीय स्वास्थ्य संस्था र गम्भीर घाइते तीन जनालाई सदरमुकाम खलंगा लगिएको उनको भनाइ छ ।

यस्तै बिहान ११ बजेतिर बारेकोटबाट सदरमुकाम खलंगा आउँदै गरेको घ १ ज ५९५ नम्बरको बोलेरो जीप नलगाड नगरपालिका–४ को बाउसेखोलाको जिरो प्वाइन्टमा दुर्घटना भएको छ ।

उक्त दुर्घटनामा घाइते भएका तीन जनालाई जिल्ला अस्पताल जाजरकोटमा उपचारका लागि पठाइएको प्रहरीले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *