२६ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का दुई उपसभापति डीपी अर्याल र डा. स्वर्णिम वाग्लेले पार्टी सभापति रवि लामिछानेलाई भेट्ने भएका छन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका लामिछानेलाई सोमबार दिउँसो भेट्ने तय भएको उपसभापति अर्यालले जानकारी गराए । सहकारीको रकम अपचलन प्रकरणमा २ कात्तिकमा प्रक्राउ परेका लामिछानेलाई चौथोपटक म्याद थप गरिएको छ । जिल्ला अदालत कास्कीले पछिल्लोपटक १३ दिनका लागि म्याद थप गरेको छ ।
हिरासतमा रहेका पार्टी सभापतिलाई सोमबार दिउँसो ३ बजे भेट्ने गरी समय निर्धारण भएको उपसभापति अर्यालले जानकारी गराए ।
सरकारले राजनीतिक प्रतिशोधपूर्ण व्यवहार गरेर पेल्न खोजेको अनुभूति रास्वपालाई भएको उनले बताए । ‘अलि धेरै नै दुःख दिन खोजे जस्तो, सकेसम्म रवि लामिछानेलाई जिउँदै राख्न नपाए हुन्थ्यो कि जस्तो सरकारको व्यवहार देखिन थाल्यो,’ अर्यालले भने ।
सभापति लामिछानेसँगको भेटपछि पार्टीले आगामी दिनमा गर्ने गतिविधिका बारेमा कुरा हुने अर्यालले बताए ।