Wednesday, December 25

जलवायु परिवर्तनको चपेटामा रहेको मधेशबाट कोप सम्मेलनमा भएन प्रतिनिधित्व

२८ कात्तिक, जनकपुरधाम । जलवायु परिवर्तनको चपेटामा रहेको मधेश प्रदेशबाट अजरबैजानको राजधानी बाकुमा हिजोदेखि सुरु भएको कोप सम्मेलनमा सहभागिता भएन ।

कोप सम्मेलनका लागि वन तथा वातावरण मन्त्रालयले एकजना प्रतिनिधि मनोनयन गरेर पठाउन मधेश सरकारको मुख्यमन्त्री कार्यालयलाई पत्र पठाएको थियो । तर, मुख्यमन्त्री कार्याले कुनै प्रक्रिया अघि नबढाउँदा यस्तो महत्वपूर्ण कार्यक्रममा सहभागिता हुन नसकेको हो ।

तिहारअघि एकजना प्रतिनिधिलाई आफ्नो खर्च व्यवस्थापन गरी पठाउन वन मन्त्रालयले पत्राचार गरेको थियो । तर, अन्तर्राष्ट्रियस्तरमा हुने कुनैपनि कार्यक्रममा सहभागिताको लागि मधेश सरकारले बजेट छुट्याएको छैन । यस कारण मुख्यमन्त्री कार्यालयले यसमा चाँसो नै देखाएन ।

मुख्यमन्त्री कार्यालयका प्रमुख सचिव लोकनाथ पौडेल सरकारलाई पत्र आएको तर प्रक्रिया अघि नबढेकाले सो विषयमा थप जानकारी नभएको बताए ।

मधेश सरकारको वन तथा वातावरण मन्त्रालयका सचिव उद्धवबहादुर घिमिरे कोपमा सहभागिताको लागि संघ सरकराले यसपटकदेखि प्रतिनिधि पठाउन पत्र पठाउनु सकरात्मक रहेको बताए ।

आफूले पत्र आएको विषयमा जानकारी भएपनि मधेश सरकारले त्यस्तो सम्मेलनहरुमा सहभागिताका लागि प्रतिनिधि पठाउन बजेट नछुट्याएकाले निजी खर्च तिरेर को जाने भन्ने अन्योलताले प्रक्रिया अघि नबढेको हुन सक्ने उनको भनाइ छ ।

आगामी वर्षमा यस्ता कार्यक्रमको लागि बजेट विनियोजन गरेर सरकारले आफ्नो प्रतिनिधि सहभागी गराउँदा उपयुक्त हुने उनको सुझाव छ ।

मधेश सरकारका एक कर्मचारीले प्रमुख सचिवले चाँसो नदिंदा निजी खर्च तिरेर जाने इच्छुक प्रतिनिधि पनि त्यस्तो महत्वपूर्ण कार्यक्रममा सहभागिता हुन नसकेको गुनासो गरे ।

‘मधेश प्रदेश जलवायु परिवर्तको चरमचपेटामा छ । आफ्नो निजी खर्चमा पनि प्रतिनिधि कोप सम्मेलनमा पुगेर यहाँको वस्तुस्थितिको बारे राख्न सक्थे । केही कुरा सिकेर आउन सक्थे । तर प्रमुख सचिवले त्यसमाथि ध्यानै दिनुभएन,’ सरकारका ती कर्मचारीले भने ।

जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि (यूएनएफसीसीसी) का पक्ष राष्ट्रहरूको सम्मेलन अर्थात कन्फरेन्स अफ पार्टिज (कोप) को २९औं सम्मेलन हिजो (नोभेम्बर ११) देखि २२ सम्म युरोपेली मुलुक अजरबैजानको राजधानी बाकुमा जारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *