Tuesday, December 24

संक्रमणकालीन न्यायसम्बन्धी आयोगका पदाधिकारीमा ७७ जनाको आवेदन

२ मंसिर, काठमाडौं । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्यनिरूपण तथा मेलमिलाप आयोगका पदाधिकारीका लागि ७७ जनाले आवेदन दिएका छन् ।

संक्रमणकालीन न्यायसम्बन्धी यी दुई आयोगका अध्यक्ष र सदस्य पदमा नियुक्तिका लागि सिफारिस गर्न गठित समितिका अनुसार शुक्रबार बेलुकीसम्म ७७ जनाको आवेदन दर्ता भएको छ ।

कानुन मन्त्रालयबाट संक्रमणकालीन न्याय सम्बन्धी कार्य हेर्ने सहसचिव मानबहादुर अर्यालका अनुसार शनिबारसम्म भौतिक रूपमा ७१ र अनलाइनमार्फत ६ गरी जम्मा ७७ जनाले आवेदन दिएका छन् । स्रोतका अनुसार अध्यक्ष पदमा आधा दर्जन आवेदन परेका छन् । केहीले अध्यक्ष र सदस्य दुवै पदमा आवेदन दिएका छन् ।

२०७९ साउनदेखि पदाधिकारीविहीन आयोगमा नियुक्तिका लागि समितिले २३ कात्तिकमा सार्वजनिक सूचना जारी गरी आवेदन माग गरेको थियो । त्यतिबेला आवेदन दिने म्याद सात दिनको भए पनि पछि पाँच दिन थपिएको थियो । यससँगै आवेदन दिने म्याद मंसिर ४ गते अपराह्न ५ बजेसम्म छ ।

म्याद अझै बाँकी रहेकाले आवेदकको संख्या बढ्न सक्ने अनुमान छ । मंसिर ४ गतेपछि आवेदककोे संक्षिप्त सूची सार्वजनिक गरिने छ । त्यसपछि उनीहरुको कार्ययोजनासमेतको मूल्यांकनको आधारमा समितिले नियुक्तिका लागि नाम सिफारिस गर्दछ । त्यो सिफारिस कानुन मन्त्रालयमार्फत् मन्त्रिपरिषदमा पुग्दछ ।

सिफारिस समिति गठन भएको मितिले दुई महिनाभित्र नाम सिफारिस गरिसक्नुपर्छ । ओमप्रकाश मिश्र संयोजकत्वको सिफारिस समिति गत कात्तिक दुई गते गठन भएकाले आगामी पुस २ गतेभित्र नाम सिफारिस गरिसक्नुपर्ने छ ।

सिफारिस समितिमा मानव अधिकार आयोगका आयुक्त मनोज दवाडी, अमेरिकाका लागि पूर्वराजदूत अर्जुनबहादुर कार्की, आदिवासी जनजाति महिला महासंघकी संस्थापक अध्यक्ष स्टेला तामाङ र पूर्वमहान्यायाधिवक्ता खम्बबहादुर खाती सदस्य छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *