Friday, December 27

सहकारी ठगी प्रकरण : छविलाल जोशीको बयान जारी

६ मंसिर, काठमाडौं। कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा जोडिएका नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीको बयान जारी छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा उनको बयान भइरहेको छ ।

मंगलबार साँझ पोखराबाट काठमाडौं ल्याइएका जोशीको बुधबारबाट बयान लिन सुरु गरिएको हो । भोलि शुक्रबारसम्म जोशीको बयान सकेर पोखरा फिर्ता पठाउने तयारी रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमै पक्राउ पूर्जी जारी भएपछि पोखराबाट कुमार रम्तेललाई काठमाडौं झिकाएर बयान गरिएको थियो । शनिबार काठमाडौं ल्याइएका रम्तेललाई बयान सकेर मंगलबार फिर्ता गरिएको थियो ।

जोशीको पनि बयान सकेर पोखरा फिर्ता गराउने तयारी प्रहरीको छ । त्यसपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई बयानका लागि काठमाडौं झिकाइने परिसर स्रोतले बतायो ।

६४५ बचतकर्ताले जाहेरी दिएपछि यो सहकारी ठगीको प्रहरी वृत्त कालीमाटीले अनुसन्धान सुरु भएको थियो । अहिले जिल्ला प्रहरी परिसरले कालीमाटीबाट फाइल झिकाएर अनुसन्धान गरिरहेको छ । स्वर्णलक्ष्मीबाट १ अर्ब ११ करोड रकम अपचलन भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

जोशी ६ असोज र लामिछाने २ कात्तिकदेखि प्रहरी हिरासतमा छन् । उनीहरुमाथि पोखराको सूर्यदर्शन सहकारी, बुटवलको सुप्रिम सहकारीमा पनि अनुसन्धान भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *