Monday, December 23

आयात–निर्यात सामान्य सुधार, चार महिनामा पौने ६ खर्ब वैदेशिक व्यापार

७ मंसिर, काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चौमासिकमा आयात–निर्यात दुवैमा सामान्य सुधार भएको छ ।

भन्सार विभागका अनुसार साउन–कात्तिकमा ५ खर्ब १३ अर्ब ३८ करोड रुपैयाँ बराबर वस्तु आयात भएको छ । यो अघिल्लो आव यसै अवधिको तुलनामा ०.१७ प्रतिशतमात्र धेरै हो । अघिल्लो आव कात्तिकसम्म ५ खर्ब १२ अर्ब ५० करोड बराबर वस्तु आयात भएको थियो ।

त्यस्तै निर्यातमा समेत सामान्य सुधार भएको छ । यस वर्ष पहिलो चार महिनामा ५२ अर्ब ६७ करोड बराबर वस्तु निर्यात भएको छ । यो अघिल्लो आव यसै अवधिको तुलनामा ४.१६ प्रतिशत धेरै हो । उक्त आवमा ५० अर्ब ५६ करोड ५३ लाख बराबर वस्तु निर्यात भएको थियो ।

कात्तिकसम्म कुल वैदेशिक व्यापार ५ खर्ब ६६ अर्ब ५ करोड बराबर भएको छ । जुन अघिल्लो आव यसै अवधिको तुलनामा सामान्य धेरै हो । गत आवमा कुल वैदेशिक व्यापारको आकार ५ खर्ब ६३ अर्ब ६ करोड रुपैयाँ थियो ।

चार महिनामा व्यापार घाटा ४ खर्ब ६० अर्ब ७१ करोड रुपैयाँ बराबर छ । यो अघिल्लो आवको तुलनामा ०.२६ प्रतिशत कम हो । अघिल्लो आवमा व्यापार घाटा ६ खर्ब ६१ अर्ब ९३ करोड बराबर रहेको भन्सार विभागले जनाएको छ ।

विभागका अनुसार यस वर्ष चार महिनाको कुल वैदेशिक व्यापारमा आयात हिस्सा ९०.७० प्रतिशत र निर्यात हिस्सा ९.३० प्रतिशत छ । निर्यात सामान्य बढ्दा हिस्सासमेत सुधार भएको छ । गत आवको तुलनामा निर्यात हिस्सा ३.६२ प्रतिशतले बढेको हो ।

इन्धन आयातमा मात्र सवा ८८ अर्ब बाहिरियो

तथ्यांक अनुसार चालु आव पहिलो चार महिनामा ८८ अर्ब २६ करोड रुपैयाँ बराबर इन्धन आयात भएको छ । कुल निर्यातले इन्धन आयात समेत गर्न पुग्ने अवस्था छैन । यस अवधिमा आइरन र स्टिल आयात ४२ अर्ब ५८ करोड बराबरको छ । विद्युतीय उपकरण र पाट्र्स आयातमा ३६ अर्ब ९५ करोड विदेशिएको छ ।

त्यस्तै सवारीसाधन आयातमा ३२ अर्ब ७३ करोड र १३ अर्ब ३० करोड बराबर तरकारीजन्य वस्तु आयात भएको विभागले जनाएको छ । निर्याततर्फ तेल तथा घिउको हिस्सा सबैभन्दा धेरै छ । यस अवधिमा ५ अर्ब ४६ करोड बराबर घिउ तथा तेलजन्य वस्तु निर्यात भएको छ । कफी र चियाजन्य वस्तु निर्यात ४ अर्ब ६४ करोड बराबर भएको देखिन्छ ।

भारतसँग धेरै व्यापार

चार महिनामा भारतसँग सबैभन्दा धेरै वैदेशिक व्यापार भएको देखिन्छ । भारतबाट चार महिनामा ३ खर्ब १६ अर्ब ८८ करोड बराबर देखिन्छ ।

नेपालबाट भारतमा ३५ अर्ब ७६ करोड बराबर सामान निर्यात भएको छ । चीनबाट नेपालमा १ खर्ब ३ अर्ब बराबर सामान आयात भएको छ । ६८ करोड रुपैयाँ बराबर सामान नेपालबाट चीन निर्यात भएको छ ।

युक्रेन नेपालमा बढी सामान आयात हुने मुलुकको तेस्रो स्थानमा छ । त्यहाँबाट ९ अर्ब १० करोड रुपैयाँ बराबर सामान आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *