७ मंसिर, काठमाडौं । नेपाल फार्मेसी परिषद्ले विद्यार्थीलाई भ्रममा पार्दै आर्थिक लाभ लिने गिरोह सक्रिय रहेको भन्दै कडा चेतावनी दिएको छ ।
परिषद्को नाम दर्ता परीक्षामा शतप्रतिशत पास गराउने भन्दै अनलाइन कक्षाहरू सञ्चालन गरेर विद्याथीलाई ठग्ने प्रयास भइरहेको तथ्य फेला परेको हो ।
परिषद्का अनुसार एडुमार्क नामक म्यासेन्जर ग्रुप र यसका सञ्चालक डब्बलबहादुर बोहराले आफ्नो अनलाइन कक्षामा सहभागी भएका विद्याथीलाई शतप्रतिशत पास गराउने र यदि पास नभएमा शुल्क फिर्ता गर्ने झुटो प्रलोभन दिँदै आएको पाइएको छ ।
‘यस्ता गैरकानूनी गतिविधिले विद्यार्थीको भविष्यमाथि खेलवाड गर्ने मात्र होइन, समग्र फार्मेसी क्षेत्रको गुणस्तरमा समेत प्रश्न उठ्न सक्छ,’ परिषद्का एक वरिष्ठ अधिकारीले भने ।
उनका अनुसार परिषद्ले यस्ता गतिविधिको निगरानी बढाएको छ र कानुनी कारबाही गर्न तयार रहेको छ ।
परिषद्ले जारी गरेको सूचनामा विद्यार्थीलाई यस्ता प्रलोभनमा नपर्न सचेत गराउँदै, कुनै पनि व्यक्ति वा संस्थाले यस्तो प्रलोभन दिएको पाइएमा तत्काल प्रहरीमा उजुरी गर्न आग्रह गरिएको छ ।
परिषद्को २६ औँ नामदर्ता (लाइसेन्स) १५ र २२ मंसिरका दिन तोकेको छ । परिषद्का रजिष्ट्रार सञ्जीवकुमार पाण्डेले ब्याचलर इन फार्मेसीको आगामी १५ मंसिर र डिप्लोमा इन फार्मेसीको २२ मंसिरमा हुने बताए ।