१२ मंसिर, जनकपुरधाम । छोराको शोकमा रहेका धनुषाको बटेश्वर गाउँपालिका–१ सोनापुरका रामउदगार महतोको परिवारलाई ४ लाख १० हजार रुपैयाँ आर्थिक सहयोग जुटेको छ ।
स्थानीय समेत रहेका सञ्चारकर्मी तथा युवा अभियन्ता फुलगेन मगहीको नेतृत्वमा एकसातामा ४ लाख १० हजार रुपैयाँ आर्थिक सहयोग संकलन भएको हो ।
सामाजिक सञ्जालमार्फत अभियन्ता मगही सहयोगको लागि आह्वान गर्दा स्वदेश तथा विदेशबाट सहयोगीहरुले पीडितकै खाता तथा हातमा रकम जम्मा गरेका छन् । मंगलबारसम्म बैंक खातामा ३ लाख ४५ हजार जम्मा भएको छ ।
यस्तै वैदेशिक रोजगारमा मलेसियामा रहेका बटेश्वर गाउँपालिका–१ का कमलेश महतो र विनोद महतोले संयुक्त रुपमा पठाएको ६३ हजार नगदमा विमलेश महतोले २ हजार थप गरी पीडित रामउदगारकै घरमा पुगेर ६५ हजार हस्तान्तरण गरेका हुन् ।
यसरी पाएको आर्थिक सहयोगबाट रामउदगारले नवविवाहिता विधवा बुहारीको माइत पक्षलाई ३ लाख ५ हजार रुपैयाँ हस्तान्तरण गरेका छन् ।
मंगलबार वडानम्बर १ का वडाध्यक्ष अशोककुमार महतोलगायत समाजको रोहबरमा उक्त रकम बुहारीको माइत पक्षलाई हस्तान्तरण गरिएको हो ।
रामउदगारका २५ वर्षीय छोरा लालबाबु महतो सात वर्ष विदेश बसेर घर फर्केका थिए । गत २८ जेठमा विपन्न घरपरिवारकै दुलहीसँग सामाजिक परम्परा अनुसार विवाह भएका लालबाबु गाउँमै मजदुरी गरेर घर चलाइरहेका थिए ।
बिहेको दुई महिना नबित्दै गत साउन २३ गते मस्तिष्कघातबाट उनको निधन भएको थियो । लालबाबुको मृत्युपछि दुलही पक्षले विपन्नताको कारण दुलहीको निर्वाहको लागि खर्च मागेका थिए ।
दुवैपक्षका समाज एवम् भरभलादमी बसेर नवविवाहिता विधवा बुहारीको निर्वाह एवं अन्य स्थानमा विवाहका लागि तीन लाख ५ हजार नगद मृतक छोरा पक्षले तीन महिनाभित्र दिनु पर्ने सहमति भएको थियो ।
छोराको शोकमा डुबेको परिवार विगतको १२ लाख घरायसी ऋणको चिन्तामा थिए नै थप ३ लाख ५ हजार कसरी तिर्ने भनेर बेचैन बनेको थियो ।
रामउदगारको सम्पत्तिको नाममा रहेको डेढ कठा घडेरी मध्येबाट एक कठा बेच्न खोज्दा पनि बिक्री भइरहेको थिएन । जेठो छोरा ३५ वर्षीय प्रदीप अशक्त छन् । उनका श्रीमती र दुई बालबच्चा छन् ।
रामउदगारका वृद्ध श्रीमती रामपरी देवी प्रालाइसिस रोगले पीडित छन् । उनको परिवारको सहयोगको लागि गाउँलेसमेत रहेको अभियन्ताले मगहीले आर्थिक सहयोगको अपिल गरेका थिए ।