Friday, December 27

इतर पक्षको भेलामा मिनेन्द्रले भने- पार्टीभित्रै मुन्टो बटार्ने काम नगरौं

१७ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले सभापति शेरबहादुर देउवालाई देखाएर पार्टीभित्र तित्तता नबढाउन आग्रह गरेका छन् । विराटनगरमा मंगलबार आयोजित इतर पक्षको भेलालाई सम्बोधन गर्ने क्रममा उनले पार्टीभित्रै आपसमा मुन्टो बटार्ने समय अहिले नभएको जिकिर गरे।

‘पार्टीभित्रै आपसमा मुन्टो बटार्ने काम नगरौं । सभापति आफ्नो अन्तिम कार्यकालमा हुनुहन्छ । सभापतिलाई देखाएर पार्टीमा तिक्तता बढाउने काम नगरौं,’ रिजालले भनेका छन् ।

साथै, उनले पार्टीमा एकले अर्कोलाई गाली गर्दै हिँड्दा अब जनतामा भएको निराशा पोखिने र त्यसको मूल्य चुकाउनुपर्ने बताए ।

‘सभापतिजीसँग लामो संगत गरेको मान्छे हुँ । उहाँ नेविसंघको अध्यक्ष हुँदा उहाँले मनोनीत गरेको केन्द्रीय सदस्य पनि थिएँ । सभापतिलाई देखाएर शत्रुता र तिक्तता बढाउने काम नगरौं । पार्टीमा एकता आवश्यक छ, संवाद आवश्यक छ । सबै जना काम गरौँं, एक अर्कालाई किन गाली गर्दै हिँड्ने ?,’ उनले भनेका छन् ।

मुलुकमा निराशा बढ्दै गएको उल्लेख गर्दै उनले अघि भने, ‘आज मुलुकमा जनतामा निराशा छ । देशको अवस्था खराब छैन, परिस्थिति धेरै खराब छैन । मान्छेहरूको काम गर्ने शैलीमा खराबी छ । जतिसुक्दो राम्रो हुँदा पनि चुलिएको निराशाबाट हामीले मूल्य चुकाउनुपर्ने हुन्छ ।’

उनले कांग्रेस र अहिलेको सरकारले जनतामा सुशासनको प्रत्याभूति गर्न आवश्यक रहेको पनि बताए ।

‘कांग्रेस र अहिलेको सरिकारले जनतामा सुशासनको प्रत्याभूति गर्नका लागि पनि संवाद आवश्यक छ । घर घरमा पुग्नुपर्ने अवस्था छ,’ उनले भने, ‘हरेक ठाउँमा संवाद लिएर जानुपर्नेछ । यसलाई गाउँ गाउँमा पुर्याउनुपर्नेछ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *