२३ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले झापाको निर्वाचन क्षेत्र नम्बर–१लाई जस्तै ५ लाई पनि माया गरिदिन प्रधानमन्त्री केपी शर्मा ओलीसँग आग्रह गरेका छन् ।
झापा–१ शर्माको र ५ प्रधानमन्त्री ओलीको निर्वाचन क्षेत्र हो । प्रधानमन्त्री ओली आइतबार दुई दिने कार्यक्रम तय गरेर झापा पुगेका छन् । ओली बाहुनडाँगीमा पनि पुग्ने कार्यक्रम तय भएको छ । बाहुनडाँगी शर्माको निर्वाचन क्षेत्रमा पर्छ ।
यसैबीच शर्माले भनेका छन्, ‘झापा–१ लाई पनि झापा ५ जत्तिकै माया गरिदिनु हुनेछ भन्ने आग्रह गर्न चाहन्छु ।’
६ महिना अघि नै निर्धारित कार्यक्रम अनुसार खुम्बु पदयात्रामा रहेको कारणले प्रधानमन्त्री ओली उपस्थित हुने कार्यक्रममा सहभागी हुन नसकेको शर्माले जानकारी गराएका छन् ।
यात्राको क्रममा भिडियो सन्देशमार्फत् शर्माले झापा–१ का समस्याबारे प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएका छन् ।
‘मेरो विनम्र अनुरोध छ । झापा–१ मा जे जति कार्यहरू भइरहेका छन् । ती सबै कार्यहरूमा पर्याप्त बजेट हुन नसक्दा असर परिरहेको छ,’ शर्माले भनेको छन्, ‘कतिपय कार्यक्रम सुरु गर्नकै लागि नागरिकको अपेक्षा त्यहाँ पुगेको बेला पूरा गर्नु नै हुनेछ ।’
झापा–१ का नागरिक जंगली हात्तीबाट प्रताडित भएको हुँदा समस्या समाधानका लागि प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएका छन् । झापा–१ मा धनीपुर्जा पाउन नसकेको समस्या पनि शर्माले सुनाए ।
‘सीमा क्षेत्रका व्यवसायीले धेरै समस्या भोगिरहुन भएको छ । भारतले नाकालाई सहज नबनाइदिँदै गर्दा अप्ठ्यारो ब्यहोरिरहनु भएको छ,’ शर्माले भनेका छन् ।
पदयात्रामा निस्केका कारणले शनिबार भएको पार्टीको कोशी प्रदेशको सम्मेलनमा समेत सहभागी हुन नसकेको शर्माले जानकारी गराएका छन् ।