२४ मंसिर, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्यो । उनीहरूमाथि नपाएको ओहदा लिएको र झुटा विवरण पेश गरी भ्रष्टाचार गरेको आरोप लागेको हो ।
अख्तियारको दाबी अनुसार उनले नागरिकतामा भएको जन्ममितिको विवरण सच्याएर आफ्नो पदावधि लम्ब्याएका थिए ।
सिलवालले २४ फागुन, २०३२ मा पर्साबाट नागरिकता लिएका थिए, त्यतिबेला उनको नागरिकता उल्लेखित उमेर १६ वर्ष मात्रै थियो । पछि उनले जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट नागरिकताको प्रतिलिपि लिए, जसमा उनको जन्ममिति २२ कात्तिक २०१६ थियो ।
अख्तियारको दाबी अनुसार त्रिभुवन विश्वविद्यालयको ट्रान्सक्रिप्टमा उनको जन्ममिति १५ साउन, १०१५ साल भनी उल्लेख छ ।
निजामती सेवामा प्रवेश गर्दा पनि उनले त्यही जन्ममिति अभिलेखमा राखेका थिए । त्यही विवरणका आधारमा उनले पेन्सनपट्टा पाएको, अवकाश लिएको भन्दै अख्तियारले १५ साउन, २०१५ लाई नै सिलवालले जन्ममिति स्वीकारेको आरोप लगाएको छ ।
उनी निजामती सेवामा रहँदा कुटनीतिक राहदानी र विशेष राहदानी लिएका थिए । त्यसक्रममा भरेको फर्ममा उनले २४ कार्तिक, २०१८ लाई जन्ममिति भनी उल्लेख गरेका थिए । वास्तविक भन्दा ३ वर्ष उमेर घटाएर राहदानी लिएको भन्दै अख्तियारले उनीमाथि मुद्दा चलाएको हो ।
निजामती सेवामा सचिवबाट अवकाशपछि सिलवाल १९ माघ, २०७७ मा विमा समितिमा नियुक्त भएका थिए । त्यतिबेला ‘सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति र मनोनयन सम्बन्धी मापदण्ड, २०७३’ अनुसार उनको नियुक्ति भएको थियो ।
मापदण्डमा ६५ वर्ष उमेर पुरा भएको पदाधिकारी स्वतः अवकाश हुने व्यवस्था थियो । उनले त्यसैलाई स्वीकारेर बीमा समितिको अध्यक्षमा नियुक्त भएको अख्तियारको दाबी छ । बिमा समिति अहिले प्राधिकरणमा रुपान्तरण भएको छ । समितिका अध्यक्ष सिलवालले प्राधिकरणको अध्यक्षमा निरन्तरता पाए ।
१५ साउन, २०८० मा अवकाश हुनुपर्नेमा त्यसलाई छलेर बीमा प्राधिकरणको अध्यक्षमा समेत नियुक्ति लिएको भनी अख्तियारले सिलवालमाथि प्रश्न उठाएको हो । आफैंले स्वीकारेको जन्ममिति परिमार्जन गरेर थप तीन वर्ष पदावधि लम्ब्याउन खोजेको भनी अख्तियारले उनीमाथि प्रश्न उठाएको हो । अनि झुटा विवरणकै आधारमा ३ वर्ष उमेर घटाएर राहदानीको कागजात पेश गरेको सको आरोप हो ।
६५ वर्ष पूरा भएपछिको पदावधिमा कायम रहेको भनी अख्तियारले उनीमाथि ३६ लाख ६२ हजार रुपैयाँ बिगो मागदाबी गरेको हो । उक्त आरोपपत्र दर्ता भएसँगै सिलवाल स्वतः निलम्बनमा परेका छन् ।