Wednesday, December 25

चीनसँगको बीआरआई फ्रेमवर्कमा अमेरिकाले खोज्यो पारदर्शिता

२५ मंसिर, काठमाडौं । काठमाडौंबाट स्वदेश फर्किनुअघि अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले सोमबार साँझ नेपाली सन्चारकर्मीसँग खुलस्त संवाद गरे । प्रधानमन्त्री केपी शर्मा ओलीले भर्खरै बेइजिङमा अघि बढाएको बीआरआई सहकार्य फ्रेमवर्क सम्झौताबारे सोधिएका जिज्ञासा समाधान गर्ने क्रममा उनले भने, ‘हामी स्वतन्त्र ढंगले लिइने निर्णयमा विश्वास गर्छौं, र त्यसमा (बीआरआई फ्रेमवर्क) सम्झौतामा के छ भन्ने कुरामा पारदर्शिता अपनाइएको छ भन्ने हाम्रो विश्वास र अपेक्षा छ ।’

लुले बीआरआई फ्रेमवर्क सम्झौताले नेपालको हित, पारस्पारिक सम्मान र सम्प्रभुतामा आधारित रहोस् भनेर आफूहरुले चाहेको अर्थपुर्ण संकेत पनि गरे । ‘हामीले बीआरआईको आधिकारिक दस्तावेज त देखेका छैनौं,’ उनले अर्को टिप्पणी गरे, ‘यो सहमति नेपालको सार्वभौमसत्ता, पारस्पारिक सहयोग र सम्मानमा आधारित भएको होला भन्ने अपेक्षा गरौं ।’

दक्षिण तथा मध्य एसियाली देशका लागि जो बाइडन प्रशासनका सहायक मन्त्री रहेका लुले आफ्नो कार्यकाल सकिनुअघि भारत, श्रीलंका र नेपाल भ्रमण गरे । त्यही भ्रमण समानका क्रममा चीनसँग जोडेर यस्तो टिप्पणी गरे । लुले बीआरआई सम्झौताको दस्तावेज पारदर्शी नगरिएको विषयलाई कुटनीतिक शैलीमा उठाएका हुन् । उनले नेपालसँग आफ्नो देशले एमसिसी सम्झौता गर्दा पारदर्शिता अपनाएको प्रसंग पनि जोडेर बीआरआईको दस्तावेज चाहिँ किन पारदर्शी नभएको भन्ने टिप्पणी अप्रत्यक्ष रुपमा गरे ।

नेपाल–चीन बढ्दो निकटतालाई कसरी लिनुभएको छ भन्ने जिज्ञासामा लुले थपे, ‘हामी नेपाललाई सबल राष्ट्रका रुपमा देख्न चाहन्छौं, ता कि यसले कुनै पनि देशको प्रभाव वा दबाबमा नपरी स्वतन्त्र निर्णय लिन सकोस् । नेपालले अमेरिका, भारत, चीन, टर्की, जापान, कोरिया, पाकिस्तान सबैसँग राम्रो सम्बन्ध राख्नुपर्छ । राखोस् पनि ।’

लुको जवाफलाई अघिल्लो साता नेपालस्थित अमेरिकी दूतावासले गरेका सातवटा ट्वीट थ्रेडसँग जोडेर हेर्नुपर्ने हुन्छ, जहाँ अमेरिकाले नेपालसँग एमसिसी सम्झौता गर्दा अपनाइएका पारदर्शितासम्बन्धी बुँदाबारे प्रसंग छन् । त्यस्तै सम्झौता अर्को देशसँग हुँदा किन पारदर्शिता नभएको भन्ने आशयमा अमेरिकी दुतावासले लेखेको हो । लुको टिप्पणी त्यसैको निरन्तरतामा आएको देखिन्छ ।

अघिल्लो साता नेपाल र चीनले सबैलाई चकित पार्दै संयुक्त वक्तव्य, अनि सबै समझदारीपत्रको समापनपछि अलग्गै सम्झौता गरेर बीआरआई फ्रेमवर्क सम्झौता टुंग्याएका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट्न नपाएका लुले उनका मुख्य सल्लाहकार विष्णु रिमाललाई सोमबार भेटे । त्यसअघि आइतबार उनले कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्का थिए । प्रधानमन्त्रीका विकास सल्लाहकार युवराज खतिवडा र अर्थमन्त्री विष्णु पौडेललाई साेमबार भेटेका लुले दुईदिने भ्रमण टुंग्याएर राति अमेरिका फर्केका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *