Tuesday, December 24

पशु वस्तुलाई चिसोबाट बचाउन के गर्ने ?

काठमाडौँ । चिसोमा पशु वस्तुलाई विभिन्न समस्या निम्तिन सक्छ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गतको राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रले कृषि–मौसम सल्लाह बुलेटिन मार्फत चिसोको समयमा गाई, भैँसी, भेडा, बाख्रा, बंगुर, खरायो आदिमा रुघाखोकी लाग्ने, ज्वरो आउने, श्वासप्रश्वास सम्बन्धी अन्य रोग लाग्ने हुँदा खोर तथा गोठ न्यानो राख्न सुझाएको छ ।

यस्ता छन् चिसोबाट जोगाउन सुझाव-

–पशु वस्तुमा रौँ झर्ने समस्या नियन्त्रण गर्न खनिज ढिक्काको प्रयोग गर्नुहोस्।

–चिसो बढ्दै जाने हुँदा, आफ्ना पशु वस्तुहरुलाई रातको समयमा न्यानो हुने गरी राख्ने बन्दोबस्त मिलाउनुहोस् । स–साना जनावरहरूलाई बिहान चिसो पानीको सट्टा मनतातो पानी खान दिनुहोस् ।

–उच्च हिमाली खर्कबाट बेँसी झारिएका र घुम्ती प्रणालीमा पालिएका चौँरी, भेडा तथा बाख्रामा खोरेत र पि.पि.आर. विरुद्ध खोप लगाउनुहोस् । साथै नाम्ले/माटे विरुद्धको औषधी खुवाउनुहोस् ।

–मौसम परिवर्तनसँगै पशु वस्तुमा जुकाको प्रकोप बढ्ने हुँदा पशुवस्तुलाई गोबर जाँच गरी जुका विरुद्धको औषधि प्राविधिकको सल्लाह बमोजिम प्रयोग गर्नुहोस् ।

–भर्खर जन्मेका र साना बाच्छा – वाच्छी/पाठा–पाठीमा निमोनिया र छेर्ने समस्याका साथै कक्सिडियोसिसको समस्या देखिने हुँदा विशेष ध्यान दिनुहोस् ।

–गाईवस्तुको खोर–गोठको झ्यालहरूमा हावाको आवत जावत हुनेगरि बोराहरू टाँगेर न्यानो बनाउनुहोस् ।

–अब बिस्तारै हरिया घाँसहरूको उपलब्धता कम हुँदै जाने हुँदा, अन्नबालीका उप–उत्पादनहरूलाई सुकाई–केलाई गरी राम्रोसँग भण्डारण गर्नुहोस् ।

–व्यावसायिक रूपमा उखु खेती गरिने तराई क्षेत्रका ठाँउहरुमा खेर गएको उखुको टुप्पाबाट साइलेज बनाई पशु वस्तुलाई आहाराको रूपमा प्रयोग गर्नुहोस् । यसको प्रयोगले गाई, भैँसीको दूध उत्पादनमा २० – २५ प्रतिशतले वृद्धि हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *