९ पुस, विराटनगर । सलहलाई खेतीका लागि सबैभन्दा खतरनाक प्रवासी किराको रुपमा चिनिन्छ । त्यसैले खाद्य सुरक्षाका लागि यसको नियन्त्रण अति जरुरी मानिन्छ ।
यसबाट जोगिने उपायको खोजी भइरहेका बेला क्याम्ब्रिज विश्वविद्यालयका शोधकर्ताको एक अनुसन्धानले मौसमजस्तै सलहको आक्रमणको पनि पूर्वानुमान गर्न सकिने निष्कर्ष निकालेका छन् ।
उनीहरुका अनुसार अत्याधुनिक कम्प्युटेसनल मोडलको उपयोगबाट सलहको झुण्ड नयाँ भोजन र प्रजननका लागि कहाँ जान्छन् भन्ने पत्ता लगाएर तीबाट जोगिन तयारी गर्न सकिन्छ ।
शोधकर्ताले विकास गरेको नयाँ प्रविधिले सलहको प्रजनन स्थल, जीवनचक्र, गतिविधि, उनीहरुको भोजनको उपलब्धता र उनीहरुले यात्रा गर्ने बाटो पत्ता लगाउने दाबी गरिएको छ ।
पीएलओएस कम्प्युटेसनल बायोलोजी पत्रिकामा प्रकाशित शोध पत्रमा लेखिएको छ– सलहको प्रकोप कहाँ सुरु हुन्छ भनेर अब पूर्वानुमान गर्न सकिन्छ र यसबाट जोगिन सहयोग पुग्छ । यदि कुनै ठाउँमा तयारी गर्न भ्याइएन भने पनि अब अर्को कुन ठाउँमा सलहले आक्रमण गर्न सक्छ भन्ने पत्ता लगाएर राम्रो तयारी गर्न सकिन्छ ।
शोधकर्ताहरुले भनेका छन्– सलहको झुण्डको गतिविधि र प्रजननलाई नजिकबाट अनुगमन गर्न सक्ने यो नयाँ मोडल प्रभावकारी हुने विश्वास छ ।
यद्यपि यसप्रकारको मोडल पहिले पनि प्रयोगमा आएको थियो । तर नयाँ मोडल अझ परिस्कृत भएकाले प्रभावकारी बन्ने वैज्ञानिकहरुको विश्वास छ । अनुसन्धानकर्ताका अनुसार नयाँ मोडेलमा सलहको गतिविधिको निगरानी र मौसम सम्बन्धी गतिविधिको आधारमा तयार पारिएको छ र त्यो व्यवहारमा सफल हुने ठानिएको छ ।
हाल सलह नियन्त्रणमा सफल र असफल दुवैखाले अनुभव छ । तर अब भने सलहको बढ्दो खतराबाट जोगिन सक्षम हुने वैज्ञानिकहरुको विश्वास छ ।
सामान्य अवस्थामा सलह एकान्तमा रहन मन पराउँछ । तर भारी वर्षा, तुफान जस्ता मौसमी घटनाले तिनीहरुलाई एकत्रित हुन प्रेरित गर्छ । त्यो अवस्थामा सलह विनाशकारी बन्छन् ।
लाखौंको संख्यामा एकत्रित हुने सलह लामो दुरी पार गर्दै एक देशबाट अर्को देशसम्म पुग्न सक्छन् । सलहको एउटा झुण्डले एक वर्ग किलोमिटरसम्म छरिएर एकैदिनमा ३५ हजार जनालाई खान पुग्ने बालीनाली सखाप पारिदिन सक्छ । यसले खाद्य पदार्थको मूल्य बढाउन, भोकमरी सिर्जना गर्न भूमिका खेल्छ ।
अमेरिकी फौजी किराभन्दा कयौं गुणा विनाशकारी मानिने सलहलाई संयुक्त राष्ट्रसंघको कृषि तथा खाद्य संगठनले ‘प्लेग’को संज्ञासमेत दिएको छ ।
वैज्ञानिकहरुले सलहको आक्रमण बढ्नुमा जलवायु परिवर्तनको असरसँग जोडेर हेर्ने गर्दछन् । खासगरी चक्रवात र भारी वर्षाजस्ता मौसमी घटना हुँदा सलहको सक्रियता बढ्छ । वर्षाले बालीनाली उम्रिने र बोटबिरुवामा नयाँ पालुवा पलाउने हुन्छ । ती कलिला पात सलहका प्रिय भोजन हुन्छन् र त्यसको सहायताबाट उनीहरुको प्रजनन सुरु हुन्छ ।
सन् २०१९ देखि २०२१ को बीचमा सलह केन्यादेखि भारतसम्म फैलिएका थिए । ती सलहले गहुँ, उँखु, मकै खेतीमा ठूलो क्षति पुर्याएका थिए ।
२०७७ सालको असारमा पनि नेपालमा सलहले दुःख दिएको थियो । २०७७ सालको जेठ ३० गते नेपालमा मनसुन भित्रिएको १५ दिनपछि सलहको बथान पनि प्रवेश गरेको थियो । ती सलहका बथान सर्लाही, बारा, पर्सा, रुपन्देही, पाल्पा, कपिलवस्तु दाङ हुँदै कैलालीसम्म फैलिएका थिए । करिब ६५ वर्षअघि पनि काठमाडौं उपत्यका र आसपासका जिल्लामा सलहले क्षति पुर्याएका थिए । सन् १९६० को दशकको सुरुतिर सलहको प्रकोपले नेपालमा ठूलो खाद्य संकट निम्त्याएको थियो ।
सलह नियन्त्रणका लागि विश्वमा विषादि छर्कने गरिएको छ । तर कतिपय देशसँग सलहको निगरानी, विमान र किटनाशक विषादीको अभाव भएकाले सलह नियन्त्रण चिन्ताको विषय बन्ने गरेको छ । जलवायु परिवर्तनसँगै सलहले आफूलाई अनुकूल बनाउने गरेकाले नयाँ सोध र अनुसन्धान आवश्यक रहेको वैज्ञानिकहरुको निष्कर्ष छ ।