Friday, December 27

छविको बयान सकियो, लिला पछाईंको सुरु

९ पुस, पोखरा । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा मुद्दा दायर भएका छविलाल जोशीको बयान सकिएको छ ।

सोमबारदेखि सुरु भएको पूर्वडीआईजीसमेत रहेका गोर्खा मिडियाका पूर्वउपाध्यक्ष जाेशीको बयान मंगलबार दिउँसो सकिएको हाे ।

योसँगै गितेन्द्रबाबु राईसँग मिलेर सहकारीको रकम अपचलनको अभियोग लागेकी लिला पछाईंको बयान सुरु भएको छ ।

जिल्ला न्यायाधीश नीतिज राईको इजलासमा बयान जारी छ । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतमा आइतबार मुद्दा दायर भएको थियो ।

पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध जिल्ला अदालत कास्कीमा सहकारी ठगीको आरोपमा मुद्दा दर्ता भएको छ ।

बयानका लागि छवि, लिलासहित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका गोर्खा मिडियाका पूर्व प्रबन्ध निर्देशक रवि लामिछाने, जीवीका साझेदर नेचर हर्ब्सका सञ्चालक रामबहादुर खनाललाई अदालतमा उपस्थित गराइएको हो ।

सञ्चालक कृष्ण गुरुङ भने विरामी रहेकाले अदालत उपस्थित नगराइएको प्रहरीले जनाएको छ । शुक्रबार जीवीसहित १९ जनाविरुद्ध थप अभियोजन दर्ता भएको थियो भने आइतबार ८ कम्पनी, ३१ जना व्यक्ति, ८ संस्था र ५ जनाको सम्पत्ति जफत गर्न थप अभियोजन दर्ता भएको हो ।

सूर्यदर्शन सहकारी ठगीमा संस्था र व्यक्ति गरेर ६३ जनाविरुद्ध थप अभियोजन अदालतमा दर्ता भएको छ । त्यसलगत्तै सोमबारबाट बयान सुरु भएको थियो । रवि लामिछानेलगायतको भने अझै बयान बाँकी छ । १८ असोज, २०८० मा राई लगायतको समूह विरुद्ध मुल मुद्दा दायर भएको थियो ।

आरोपितहरुमाथि करिब १ अर्ब ५१ करोड रुपैयाँ बिगो मागदावी गरिएको छ । सूर्यदर्शन सहकारीको रकम ठगी भएको विषयमा प्रहरीले पोखरा महानगरपालिकाको अध्ययन प्रतिवेदन, संसदीय विशेष समितिको प्रतिवेदन समेतलाई आधार मानेर थप अनुसन्धान अघि बढाएको थियो ।

सूर्यदर्शन सहकारीका उपाध्यक्ष कैलाश दर्लामी, कोषाध्यक्ष कुमार रम्तेल, पूर्व सञ्चालक शिवबहादुर गुरुङ (महेन्द्र भोटे), प्रमोद भट्टराई, अनुज नकर्मी, भविश्वर अर्याल लगायतहरु पुर्पक्षका लागि थुनामा छन् । उनीहरुमाथि करिव एक अर्ब ११ करोड रुपैयाँ विगो मागदावी थियो । त्यसपछि पनि जाहेरी परेपछि थप अभियोजन भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *