Wednesday, December 25

कांग्रेस र एमालेको शक्ति सन्तुलन मिलाउने जिम्मेवारी प्रधानमन्त्रीको हो : नैनसिंह महर

९ पुस, काठमाडौं। नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले संयुक्त सरकारभित्र कांग्रेस र एमाले बीचको शक्ति सन्तुलन हुनु आवश्यक भएको र यो सन्तुलनको जिम्मेवारी प्रधानमन्त्रीको भएको बताएका छन् ।

नेपाली कांग्रेसको १०० दिने विशेष अभियानअन्तर्गत कांग्रेस नगर कार्यसमिति देउमाई नगर इलामले आयोजना गरेको कार्यक्रममा शिक्षा विभाग प्रमुखसमेत रहेका महरले उक्त कुरा बताएका हुन्।

‘नेकपा एमालेको नेतृत्वमा कांग्रेस सहितको संयुक्त सरकार गठन भएको पाँच महिना बित्दा पनि गठबन्धनको स्पिड अनुसार चल्नसकेको छैन। यसले कांग्रेसको घोषणा पत्रलाई पनि धेरै ध्यान दिएको देखिँदैन।कांग्रेस-एमालेबीच गठबन्धन हुँदै गर्दा जनतामाझ व्याप्त निराशालाई आसामा परिणत गर्ने प्रतिबद्धता प्रधानमन्त्री केपी शर्मा ओलीले संसद‍्मा व्यक्त गर्नु भएको थियो,’ महरले भने, ‘त्यस अनुरूप काम देखिएन।

त्यसैले वर्तमान सरकारलाई सात बुँदे सहमति कार्यान्वयनबाट पछि हट्ने छुट् नभएको उनले औंल्याए। ‘कांग्रेस संसद‍्को ठूलो दलको हो। कांग्रेसको ओज र स्थितिलाई ध्यान नदिएर सरकार कांग्रेसको तेजोवध हुने गरी अगाडि बढिरहेको आभाससमेत हुन थालेको छ। सरकार कांग्रेसको गरिमा घटाउने गरी अगाडि बढिरहेमा समीक्षा हुनसक्छ,’ महरले भने।

कांग्रेस र सरकारलाई थप गतिशिलता बढाउनका लागि ,यतिबेला कांग्रेस जनताको भावना बुझ्न १०० दिने अभियानका माध्यमबाट जनताको घर दैलोमा रहेको र पार्टीप्रति थुप्रै सुझाव तथा आसा पाइएको उनले दाबी गरे।

‘हामीले देशभर जनतासँग कांग्रेस, सरकार र विकासका बारेमा संवाद तथा समीक्षा गरेका छौं। १६ पुसमा कांग्रेसको १०० दिने अभियान सकिएपछि हामी सरकारको बारेमा जनताले कांग्रेसलाई दिएको सुझाव अनुसार सत्ता सहयात्राबारे केन्द्रीय समिति बैठकमा समीक्षा गर्न सक्छौं,’ उनले भने।हामी यो सरकारको प्रभाविता बढोस भन्ने चाहान्छौं। सरकारको प्रभावकारिता बढन सकेन भने कांग्रेसले निर्देशन दिनु पर्ने अवस्था आउन सक्छ।

सरकार निर्माण हुँदाको सात बुँदेको स्पिरिट अनुसार चल्न सकिरहेको छैन ,त्यसैले सरकारलाई अपेक्षा अनुसार चल्न उनको सुझाव छ।

देशका दुई ठूला शक्ति एक ठाउँमा आउँदा सुरुमा जनतामा ठूलो आसा रहे पनि बिस्तारै निराशामा परिणत भइरहेको आफूले १०० दिने अभियानका क्रममा देशका विभिन्न भूभागमा पुग्दा पाएको महरको भनाइ छ। उक्त निरासा चिर्न ,जनताका लागि आवश्यक सेवा प्रवाहमा बिशेष ध्यान दिन बिलम्ब गर्न हुँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *