११ पुस, काठमाडौं। सशस्त्र प्रहरी बल नेपालका डीआईजीद्वय अभिकुमार खत्री, दुर्गाप्रसाद भट्टराई गत १६ भदौमा ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाशमा गए । उनीहरु अवकाशमा गएको चार महिना बित्न लाग्दासम्म रिक्त स्थानमा अहिलेसम्म बढुवा हुन सकेको छैन ।
बढुवाका लागि सशस्त्र प्रहरीकै पहिलो ब्याच सि. सं. १ का टोली प्रतिस्पर्धामा छन् । उक्त टोलीबाट यसअघि नै अन्जनीकुमार पोखरेल, दीपेन्द्र शाह, पुरुषोत्तम थापा र दीपक अधिकारी डीआईजी भइसके । तर उनीहरुकै ब्याचका चार जना अझै एसएसपी छन् ।
सशस्त्रमा डीआईजी बढुवा हुन अनिवार्य रूपमा स्टाफ कलेज पास हुनुपर्ने व्यवस्था छ। चारमध्ये मनिष थापा र कृष्ण ढकालले मात्रै स्टाफ कलेज पास गरेका छन् र डीआईजीमा दुईजनाको मात्र पद रिक्त छ।
यसरी यसपटक डीआईजी बढुवा प्रक्रिया सहज बनेको थियो । तर हुँदा पनि सशस्त्रमा अहिलेसम्म डीआईजी बढुवा हुन सकेको छैन । यता नेपाल प्रहरीमा भने रिक्त हुनासाथ २ दिनदेखि एक सातासम्मका लागि डीआईजी/एआईजीमा बढुवा गर्दै घर पठाउँदै गरेका गृहमन्त्री रमेश लेखकले भने सशस्त्रको बढुवामा भने अनिच्छा देखाएका छन् ।
चार महिनासम्म रिक्त पद हुँदा पनि बढुवा हुन नसक्नुमा एसएसपी दीपेन्द्र कुँवर जोडिएका सशस्त्र प्रहरी स्रोत बताउँछ ।
नेपाली कांग्रेसका सभापति देउवाका भतिज भानु देउवाका बहिनी ज्वाईं समेत रहेका कुँवर अघिल्लो ब्याचलाई समेत उछिनेर बढुवाका लागि लबिङमा लागेपछि चार महिनासम्म बढुवा हुन सकेको छैन ।
यसअघि कुँवरलाई बढुवा गर्नका लागि सशस्त्र प्रहरी नियमावली नै संशोधन गरिएको थियो । सशस्त्र प्रहरी नियमावलीको नियम ४० अनुसार एसपीमा चार वर्ष सेवा गरेपछि मात्र एसएसपीमा बढुवा हुनसक्ने प्रावधान थियो । कुनै एसपीले चार वर्ष सेवा नगरेको अवस्थामा एसएसपी पद रिक्त हुँदा कायममुकायम एसएसपीको दर्जा दिएर काम गर्न व्यवस्था नियमावलीले गरेको थियो ।
कुँवरलाई एसएसपीमा बढुवा गर्न उक्त प्रावधानले बाधा पुर्याएपछि नियमावली नै संशोधन गर्दै चार वर्षे पदावधिलाई तीन वर्षमा झारिएको थियो । नियमावली संशोधन गर्दै उनी २०७९ साउनमा एसएसपीमा बढुवा भएका थिए ।