Thursday, December 26

बोल्न र सुन्न नसक्ने युवालाई निःशुल्क आतिथ्य सत्कार तालिम

१० पुस, काठमाडौं । बीबीसी मास्टरसेफ सन्तोष साहले बोल्न र सुन्न नसक्ने युवा लक्षित गरी आतिथ्य सत्कार (हस्पिटालिटी) सम्बन्धी निःशुल्क तालिम अभियान थालेका छन् ।

बोल्न र सुन्न नसक्ने लक्षित गरी उक्त कार्यक्रम ल्याइएको सेफ साहले जानकारी दिए । उनले अपांगता भएकाको क्षमता अभिवृद्धि तथा आत्मनिर्भर बनाउने उद्देश्यले अभियान सुरु गरिएको बताए । ‘पहिलो चरण अन्तर्गत तालिमप्राप्त जनशक्तिको आइतबार ग्रेजुएसन सम्पन्न भएको छ,’ उनले भने ।

उनका अनुसार बारिस्टा तालिम, हाउस किपिङ र बेकरी सञ्चालन लगायत होटल व्यवस्थापनका विभिन्न विधामा आवश्यक सिप हासिल गरेका ३१ जना सहभागी थिए । सन् २०२४ सुरुवातदेखि विभिन्न चरणमा गरी ३ सय ९० घण्टाको प्रशिक्षण प्राप्त युवालाई दिक्षान्त प्रमाणपत्र प्रदान गरिएको छ ।

साहले काठमाडौंमा ग्लोबल एकेडेमी अफ टुरिज्म एन्ड हस्पिटालिटी एजुकेसन (गेट) को भगिनी संस्था गेट पोलिटेक्निक इन्स्टिच्युटसँगको सहकार्यमा साहले उक्त अभियान थालेका हुन् । यसका लागि विभिन्न संघसंस्था र व्यक्तिसँग सहकार्य गरिएको उनले बताए ।

मास्टरसेफ साहले स्विजरल्यान्डमा च्यारिटी डिनर आयोजना गरी आर्थिक सहयोग जुटाएको समेत जानकारी दिएका छन् । ‘यो केवल सिप प्रदान गर्ने कुरा होइन, समावेशिता प्रवर्द्धन गर्ने विषय पनि हो,’ साहले भने, सही मागदर्शन र अवसर पाए अपाङ्गता भएका व्यक्तिले समाजलाई उल्लेखनीय योगदान दिन सक्छन् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *