Friday, December 27

काभ्रेमा बढी पहिरोको क्षति : तीन महिनामा बल्ल प्रारम्भिक विवरण

११ पुस, काभ्रे । गत असोज दोस्रो आएको बाढीपहिरो पछि काभ्रेमा भएको क्षतिको प्रारम्भिक विवरण ३ महिनामा बल्ल सार्वजनिक भएको छ । सहरी विकास तथा भवन कार्यालयले जिल्लामा भएका निजी आवास तथा सरकारी कार्यालयको क्षति विवरण सार्वजनिक गरेको हो ।

प्रारम्भिक विवरणअनुसार काभ्रेमा ३ हजार ३ सय २८ निजी आवासमा क्षति पुगको छ भने १२ सरकारी भवन पूर्णरुपमा तथा १ सय ३५ वटामा आंशिक क्षति पुगेको छ । आठ सार्वजनिक भवन पूर्णक्षति भएका छन् भने १ सय ३४ वटामा आंशिक क्षति पुगेको जनाइएको छ ।

सहरी विकास तथा भवन कार्यालय भूमिनन्द ढकालका अनुसार कूल क्षति पुगेको निजी आवासमध्ये २ हजार ५ सय ७७ घर पूर्णरुपमा क्षति भएका भने ७ सय ५१ घरमा आंशिक क्षति पुगेको छ । त्यसैगरी जिल्लाका विभिन्न स्थानका ६८ घरपरिवार स्थानान्तरणका लागि सिफारिस भएका छन् ।

जिल्लाका १३ स्थानीय तहमध्ये सबैभन्दा बढी बेथानचोक तथा सबैभन्दा कम क्षति महाभारत गाउँपालिकामा छ । बेथान्चोक गाउँपालिकामा ६ सय २९, नमोबुद्ध नगरपालिकामा ४ सय ८९ र रोशी गाउँपालिकामा ३ सय ५० घर र तेमालमा ४ सय ३९ घर पूर्ण रुपमा क्षति भएका छन् ।

चौरीदेउराली गाउँपालिकामा १ सय ३४, भुम्लु गाउँपालिकामा १ सय २२ वटा घर क्षति भएका छन् । धुलिखेलमा ८०, पाँचखालमा ७६, खानीखोलामा ४५, महाभारतमा २३, बनेपामा ४७, पनौतीमा ५९ र मण्डनदेउपुर नगरपालिकामा ८४ वटा घर पूर्ण रुपमा क्षति भएका छन् ।

त्यस्तै बेथान्चोक गाउँपालिकामा १५ सय २०, नमोबुद्ध नगरपालिकामा ११ सय २४ र रोशी गाउँपालिकामा ७ सय १० घर, तेमालमा ५ सय ३४ घर चौरीदेउराली गाउँपालिकामा ३ सय ७, भुम्लु गाउँपालिकामा ८४ वटा घर, धुलिखेलमा ५ सय ७२, पाँचखालमा ४ सय २४, खानीखोलामा ५६, महाभारतमा १०, बनेपामा ७९, पनौतीमा २ सय ७२ र मण्डनदेउपुर नगरपालिकामा ६ सय १३ वटा घर आँशिक रुपमा क्षति भएका छन् ।

त्यस्तै जिल्लामा ६८ घर परिवार स्थानान्तरण गर्नुपर्ने पनि सहरी विकास तथा भवन कार्यालयले जनाएको छ । खानीखोलामा ५, मण्डनदेउपुरमा १३, चौरीदेउरालीमा २३, पाँचखालमा १३, रोशीमा ९ र बेथान्चोकमा ५ घर परिवार स्थानान्तरणका लागि आवेदन दिएको प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले जानकारी दिए ।

बाढीपहिरोबाट काभ्रेपलाञ्चोकमा ७९ जनाको मृत्यु भएको थियो भने ७८ घाइते तथा ६ जना अझै बेपत्ता छन् । जिल्लाका स्थानीय तहबाट प्राप्त क्षतिको विवरण अनुसार पुनःनिर्माण तथा पुनःस्थापनाका लागि बागमती प्रदेशस्थित भौतिक पूर्वाधार विकास मन्त्रालयमा लागत अनुमानसहितको विवरण पठाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *