Tuesday, January 7

साढे ५ महिनामा विराटनगरको आन्तरिक आम्दानी २३ करोड ३५ लाख

२२ पुस,विराटनगर । विराटनगर महानगरपालिकाले चालु आर्थिक वर्षको साढे पाँच महिनामा आन्तरिक स्रोतबाट २३ करोड ३५ लाख राजस्व संकलन गरेको छ ।

गत साउनदेखि १५ पुससम्म महानगरले जम्मा ३ करोड ३५ लाख ९७ हजार रुपैयाँ अर्थात् लक्ष्यको २१.०८ प्रतिशत मात्रै संकलन गरेको हो । चालु आर्थिक वर्षका लागि आन्तरिक आयको लक्ष्य एक अर्ब १० करोड ७९ लाख १० हजार रुपैयाँ छ ।

विराटनगर महानगरपालिका नगरसभाको पन्ध्रौं अधिवेशनमा उपमेयर शिल्पा निराला कार्कीले चालु आर्थिक वर्ष २०८१/०८२ का लागि संशोधित आय-व्यय प्रस्तुत गर्दै पुस १५ गतेसम्म संघ र प्रदेशबाट प्राप्त भएको बजेटसहित जम्मा एक अर्ब २२ करोड ४८ लाख ३ हजार रुपैयाँ महानगरले आम्दानी गरेको जानकारी दिइन् ।

चालु आर्थिक वर्षका लागि महानगरले तीन अर्ब ४९ करोड ९८ लाख ८६ हजार आय अनुमान गरेको छ । सोही बराबर खर्च हुने बजेट प्रस्तुत गरेको महानगरले पुस १५ गतेसम्म ६९ करोड ५४ लाख ३८ हजार रुपैयाँ खर्च गरेको छ । जसमध्ये १४ करोड ४० लाख ६३ हजार पुँजीगत खर्च भएको छ । कर्मचारीको तलब भत्तासहित चालुतर्फ ५५ करोड १३ लाख ७५ हजार रुपैयाँ खर्च भएको छ ।

अधिवेशनमा मेयर नागेश कोइरालाले सीमित स्रोत र साधनबाट पछिल्लो अढाइ वर्षमा ३१ किलोमिटर सडक कालोपत्रे र ४८ किलोमिटर नयाँ सडक ग्राभेल, ४६ किलोमिटर नाला, १७८ वटा कल्भर्ट, ९२ किलोमिटर आरसीसी सडक ढलान गरेको उनको दाबी छ । ७५ किलोमिटर रिटेरिङ वाल निर्माण गरेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *