Tuesday, January 7

स्वर्णलक्ष्मीमा जीबी राई र उनका २ दाइहरू पनि फरार प्रतिवादी

काठमाडौँ । स्वर्णलक्ष्मी बहुउद्धेश्यिय सहकारी संस्था लिमिटेडको रकम अपचलनमा संलग्न आरोपमा गितेन्द्रबाबु (जीबी) राई र उनका दुई जना दाइहरूलाई पनि प्रतिवादी कायम गरिएको छ । काठमाडौँ जिल्ला अदालतमा दायर अभियोग पत्रमा जीबी र उनका दाइहरू ४७ वर्षीय देबेन्द्रबावु राई र ५० वर्षीय अनन्तबाबु राई फरार सूचीमा छन् ।

सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीबी) राई स्वर्णलक्ष्मीको अध्यक्ष हुन् । ओखलढुंगाको सुनकोशी गाउँपालिका वडा नम्बर–१ घर भएका दीपहरि राईका ३ भाइ छोराहरू नै सहकारीको रकम अपचलनमा संलग्न देखिएको प्रहरीको अनुसन्धान निष्कर्ष छ । ४१ वर्षीय जीबी राई विरुद्ध इन्टरपोलबाट रेड नोटिस जारी भैसकेको छ ।

५० वर्षीय अनन्तबाबु राई नेचर नेष्ट प्रालि, गोर्खा हर्बल प्रोडक्सन प्रालि, प्यागोडा होम प्रालि, स्प्रिङ उड रियलस्टेट प्रालि र गोरखा ग्रुप अफ कम्पनी प्रालिका सञ्चालक हुन् । देवेन्द्रबावु स्वर्णलक्ष्मीको उपाध्यक्ष हुन् ।

काठमाडौँ जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधिवक्ता खडिन्द्रराज कटुवालले दायर गरेको अभियोगपत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने सहित ३९ जनालाई प्रतिवादी कायम गरिएको छ ।

जीबी राईको पारिवारिक सदस्य ओखलढुंगा घर भएका भूपेन्द्र राई पनि प्रतिवादी छन् । वीरहरि राईको छोरा भूपेन्द्र देव दीप एग्रिकल्चर एण्ड एनिमल हस्वेण्ड्री फार्म प्रा.लि, प्यागोडा होम प्रालि, स्प्रिङ उड रियलस्टेट प्रालि र गोरखा ग्रुप अफ कम्पनी प्रालिका सञ्चालक हुन् ।

प्रतिवादीहरूसँग १ अर्ब १९ करोड ४९ लाख २१ हजार २७० बिगो मागदाबी गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *