Monday, January 13

केन्द्रको सर्कुलर नआउँदा एमालेको ‘जरा केन्द्रित’ अभियानमा अलमल

काठमाडौँ । संगठन विस्तार अभियान अन्तर्गत माघ, फागुन र चैतमा वडा केन्द्रित तीन महिने अभियान सञ्चालन गर्ने निर्णय गरेको नेकपा एमालेले मातहतका कमिटीमा सर्कुलर पठाउन ढिलाइ गरेको छ । जसका कारण मातहतका पार्टी कमिटीले अभियान अघि बढाउन अलमल हुने देखिएको बताएका छन् ।

एमालेले तीन महिने अभियानलाई ‘जरा केन्द्रित’ अभियानको रूपमा समेत चिनाउने प्रयास गरेको छ । पुस २१ देखि २३ गतेसम्म बसेको एमाले केन्द्रीय कमिटी बैठकले माघ महिनादेखि चैतसम्म ३ महिने जरा केन्द्रित अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो ।

उक्त अभियानअन्तर्गत टोलसम्म पार्टी कमिटी विस्तार गर्ने र सदस्यता नवीकरण तथा वितरण गरेर संगठन विस्तार गर्ने एमालेको तयारी छ । यसअघि वडा तहसम्ममात्र एमालेका कमिटी बनेका थिए ।

‘अव वडाभन्दा तल्लो तह मानिने टोलसम्मै एमालेको संगठन र कमिटी विस्तार हुन्छ’, नेकपा एमाले संगठन विभाग प्रमुख काशीनाथ अधिकारीले भने, ‘अबको तीन महिना नेता कार्यकर्ता जनताका बिचमा गएर उनीहरूका समस्या बुझ्दै संगठनका काम गर्छन् ।’

एमाले संगठन विभागले गरेको प्रस्ताव अनुसार पार्टीले वडा केन्द्रित तीन महिने अभियान सञ्चालन गर्न लागेको हो । संगठन विभाग प्रमुख अधिकारीले सातै प्रदेशमा अभियान सुरु गर्न तयारी भइरहेको बताए । उनले प्रदेशले केन्द्रको निर्णयअनुसार कार्यक्रमहरू बनाएर लागु गर्ने पनि बताए ।

‘केन्द्रीय कमिटी बैठकले वडा केन्द्रित अभियानको अवधारणालाई अनुमोदन गरिसकेको छ । त्यससम्बन्धी परिपत्र जारी भैसकेको छैन’, अधिकारीले भने, ‘अव सबै प्रदेशले प्रदेशस्तरमा बैठक राख्छन्, त्यसअनुसार जिल्लामा पनि बैठक बस्छ । यसरी नै पालिका र वडा तहमा पनि बैठक बसेर गर्ने अभियानअन्तर्गत तोकिएका कामहरू हुन्छन् ।’

नेकपा एमाले काशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाले कोशी प्रदेशले सबै जिल्लाहरूलाई कार्यक्रम अघि बढाउन निर्देशन दिइसकेको बताए ।

‘प्रदेशले जिल्ला, जिल्लाले पालिका र पालिकाले वडासँग समन्वय गरेर अभियान सुरु हुन्छ । केन्द्रको सर्कुलर आएपछि टोलसम्म पुग्नेगरी कार्ययोजनाहरु बन्छन्’, खतिवडाले भने, ‘पार्टी सदस्यता वितरण र नवीकरणलगायतका सबै गतिविधि सूक्ष्म हुन्छन् ।’

उनले अभियानको उद्देश्य जनताको बिचमा नेकपा एमालेलाई पुर्‍याउने र कमिटी नभएका ठाउँमा बनाउने रहेको बताए ।

नेकपा एमाले गण्डकी प्रदेशका अध्यक्ष नवराज शर्माले केन्द्रीय कमिटी बैठकपछि सर्कुलर नआएकाले औपचारिक अभियानको प्रक्रिया अघि बढ्न बाँकी रहेको बताए ।

‘औपचारिक सर्कुलर आउन बाँकी छ । आएपछि प्रदेशका सबै जिल्लाको कार्ययोजना बन्छन् । कार्ययोजना बनेपछि जिल्ला जिल्लामा पठाउँछौँ’,अध्यक्ष शर्माको भनाइ छ ।

उनले माघको पहिलो साताभित्र प्रदेश कमिटीको बैठक राखेर आवस्यक कार्ययोजना निर्माणपछि मातहतका कमिटीहरूलाई पठाइने जानकारी दिए ।

लुम्बिनी प्रदेशका अध्यक्ष राधाकृष्ण कँडेलले माघ ११ र १२ गते प्रदेश कमिटीको बैठक बसेर आवश्यक प्रक्रिया सुरु गरिने बताए ।

‘माघ ८ गते बैठक राखिएको थियो तर फेरि ११ र १२ गते बैठक बस्दा उपयुक्त हुने भनेर मिति परिवर्तन भएको छ । त्यो बैठक बसेर अभियानको काम सुरु हुन्छ’, कँडेलको भनाइ छ । त्यस्तै नेकपा एमाले सुदूरपश्चिम प्रदेशका अध्यक्ष कृष्णप्रसाद जैसीले प्रदेशको बैठक पुस २६ र २७ गते बसेर अभिमुखीकरण तालिम समेत गरिसकेको बताए ।

‘केन्द्रको सर्कुलर आइसकेको छैन, तर केन्द्रीय कमिटी बैठकको फर्म्याट अनुसार आन्तरिक तयारीहरू भइरहेका छन्’, जैशीले भने,‘अव जिल्लाहरूका बैठक गराएर गाउँपालिकासम्मका योजना बनाउँदै वडा र टोलसम्म पुग्छौ ।’

पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई प्रदेशमा बोलाएर अझ बृहत् छलफल गर्ने कि भनेर प्रदेशमा छलफल समेत भइरहेको अध्यक्ष जैसीको भनाइ छ ।

नेकपा एमाले कर्णाली प्रदेश अध्यक्ष गुलावजंश शाहले माघ ५ गते प्रदेश कमिटीको बैठक बोलाएको जानकारी दिँदै त्यही बैठकले जिल्ला कमिटीको बैठक बोलाउन निर्देशन दिने र अभियानका कार्यक्रम अघि बढाउने बताए ।

‘प्रदेश कमिटीको बैठक माघ ५ गते बस्छ । प्रदेश कमिटीको बैठकले सबै जिल्लाको बैठक तोक्छ’, शाहले भने, ‘माघको पहिलो सातामा जिल्ला कमिटीको बैठक, दोस्रो हप्तामा पालिका र तेस्रो हप्तामा वडा कमिटीहरूको बैठक राखेर वडा केन्द्रित अभियान सञ्चालन हुन्छ ।’

केन्द्रको सर्कुलर माघ ५ गतेसम्म आइपुग्ने भन्दै शाहले त्यो सर्कुलर आएपछि थप गतिविधि गर्न मार्गनिर्देश हुने बताए । बागमती प्रदेश अध्यक्ष कैलाश ढुंगेलले चाँडै प्रदेश सचिवालय बैठक बसेर वडाकेन्द्रीत कार्यक्रमबारे अगाडि बढाउने जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *