कोदोलाई पोषिलो अन्न मानिन्छ । पोषक तत्वको कुरा गर्ने हो भने यसमा क्याल्सियम, कार्बोहाइड्रेट, फस्फोरस, आइरन, प्रोटिन, चिल्लो पदार्थ, थाइमिन र रेसादार वस्तु पाइन्छ ।
यसमा चामल र मकैभन्दा ३५ गुणा अनि गहुँभन्दा ८.७३ गुणा बढी क्याल्सियम पाइन्छ । यसमा मकैभन्दा ३.७ गुणा, चामलभन्दा २.३ गुणा र गहुँभन्दा १.५ गुणा बढी आइरन पाइन्छ । थोरै खाएर पनि पेट भरिने र धेरै पोषण तत्त्व प्राप्त गर्न सकिने बालीको रूपमा कोदोलाई लिइन्छ ।
खाद्यान्नको रूपमा प्रयोग गरिने कोदोको रक्सीजन्य पदार्थ पनि बनाइन्छ । यसमा सबैभन्दा ठूलो भ्रम के छ भने कोदोको रक्सी पिउँदा पनि कोदोमा पाइने पोषक तत्त्व पाइन्छ । तर कोदोमा जति पनि पोषक तत्त्व पाइन्छ । त्यसलाई प्रशोधन गरेर बनाएको रक्सीमा यो पोषक तत्त्व नपाइने पोषणविद् आयुष अधिकारी बताउँछन् ।
‘कोदो आफैंमा धेरै पोषक तत्त्वले भरिपूर्ण अन्न हो । यसबाट रोटी, ढिंडो र खोले जस्ता परिकार बनाएर खाँदा यसमा पाइने सम्पूर्ण पोषक तत्त्व पाइन्छ’ अधिकारी भन्छन्, ‘तर यसलाई प्रशोधन गरेर जाड रक्सी बनाइयो भने कोदोमा भएको पोषक तत्त्व कम हुन्छ ।’
संयुक्त राष्ट्र संघले सन् २०२३ लाई ‘अन्तर्राष्ट्रिय कोदोजन्य बाली वर्ष’ घोषणा गरेको थियो । राष्ट्र संघीय निकाय खाद्य तथा कृषि संगठनका अनुसार ‘कोदोको उपयोगिताबारे जागरूकता फैलाउन र प्रत्यक्ष रूपमा नीतिगत प्रभाव पार्न’ यस्तो घोषणा गरिएको हो ।
हिजोआज सहरबजारका ठूला-ठूला होटेल, रेस्टुरेन्टमा विभिन्न परिकार बनाएर बिक्री हुन थालेपछि पछिल्लो समय कोदोको परिचय बदलिएको छ ।
पोषणविद् भूपाल बानियाँका अनुसार कोदो फलाम, क्याल्सियम, म्याग्नेसियम, फस्फोरस र पोटासियम जस्ता खनिजको समृद्ध स्रोत हो । यसमा प्रशस्त मात्रामा क्याल्सियम हुन्छ । फाइबरले भरिपूर्ण कोदोमा विभिन्न भिटामिन (बिटा क्यारोटिन, नियासिन, भिटामिन बी ६, फोलिक एसिड) हुन्छ । यसमा भएको लेसितिनको उच्च मात्राले स्नायु प्रणालीलाई बलियो बनाउन सघाउँछ । कुपोषण हटाउन पनि मद्दत गर्छ ।
अन्यभन्दा कोदोको बिस्कुट स्वस्थकर हो ?
अन्य बिस्कुटको तुलनामा कोदोको बिस्कुट स्वास्थ्यका लागि केही मात्रामा राम्रो हो । यसमा प्रोटिन र फाइबर हुन्छ । यद्यपि यसमा नुन, चिनी, ट्रान्सफ्याट भने हुन्छ । जसले भने स्वास्थ्यमा खासै राम्रो असर नगर्ने पोषणविद् बानियाँ बताउँछन् ।
‘कोदोको बिस्कुटमा हुने ट्रन्सफ्याट, नुन र चिनीले पनि उच्च रक्तचाप, मधुमेह र मुटुरोगको जोखिम बढाउँछ’ उनी भन्छन्, ‘अन्य बिस्कुट जस्तै कोदो बिस्कुटलाई पनि लामो समय टिकाउन प्रिजर्भेटिभहरू थपिन्छन् । यसमा उच्च सोडियम पनि हुन्छ ।’
यदि मैदाको बिस्कुट र कोदोको बिस्कुटमा एउटा रोज्नु परे कोदोको बिस्कुटलाई रोज्न सकिन्छ । तर जति पोषक तत्त्व प्राकृतिक रुपमा बनेको कोदोको परिकारमा हुन्छ, बिस्कुटमा त्यति नहुने बानियाँ बताउँछन् ।
बिस्कुट मात्र हैन, कोदोको पाउरोटी पनि आजभोलि बजारमा देख्न सकिन्छ । कोदोलाई प्रशोधन गरेर पाउरोटी बनाउँदा पनि त्यसमा भएको प्राकृतिक तत्त्व नष्ट भएर पोषक तत्त्व कम हुन्छ ।
कोदोको मःम
आजभोलि कोदोको मःम पनि बजारमा पाइन्छ । २०७८ सालमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कोदोको मःमबारे अनुसन्धान गरेको थियो । मैदाको मःम भन्दा कोदोको मःम तुलनात्मक रुपमा फाइदाजनक भएको विभागको अनुसन्धानले देखाएको थियो ।
विभागकी वरिष्ठ खाद्य अनुसन्धान अधिकृत डा. हुमा कुमारी बोखिम भन्छिन्, ‘कोदोबाट मात्रै मःम बनाउन मिल्दैन, मैदामा ३० प्रतिशत कोदो मिसाएर बनाउन सकिन्छ ।’
बोखिमका अनुसार कोदोमा कार्बोहाइड्रेटको मात्रा कम हुने, फाइबर, मिनरल्स बढी पाइने र इनर्जी कम मात्रामा पाइने हुन्छ ।
शुद्ध मैदाको मःमको तुलनामा ५० प्रतिशत कोदो मिसाएको मःम शरीरले बिस्तारै पचाउने हुँदा र मैदाको तुलनामा कोदोको मःममा क्याल्सियम, मिनरल्स र फाइबर बढी पाइने भएकाले स्वास्थ्यका लागि राम्रो हुने कुरा विभागको अनुसन्धानले देखाएको छ ।
कोदोको फाइदाबारे अनुसन्धान
इण्डियन इन्स्टिच्युट अफ मिलेट रिसर्च (आईआईएमआर), हैदरावाद, भारतको तथ्य पत्रअनुसार कोदोबाट धेरै लाभ लिन सकिन्छ ।
महामारीसम्बन्धी अध्ययनले के देखाएको छ भने कोदोको उपयोगले मुटुरोगको जोखिम कम हुन्छ, मधुमेहबाट जोगाउँछ । यसले पाचन प्रणालीमा सुधार ल्याउँछ, क्यान्सरको जोखिम कम गर्छ, शरीरको शुद्धीकरण गरी विषाक्तता हटाउँछ ।
श्वासप्रश्वाससम्बन्धी प्रतिरोधक क्षमता बढाउँछ, ऊर्जा स्तरमा वृद्धिसँगै मांसपेशी र नसासम्बन्धी प्रणालीमा सुधार ल्याउँछ । म्याग्नेसियम अत्यधिक हुने भएकाले यसले विशेष रूपले रक्तचाप कम गर्न, एथेरोस्केलेरोसिसमा मुटुको स्ट्रोकको जोखिमलाई न्यून गर्न सघाउँछ । यसले केही प्रकारका क्यान्सर र मुटुरोगबाट समेत जोगाउँछ ।
कोदोमा उच्च मात्रामा पाइने रेसाले कोलेस्ट्रोल कम गर्न समेत सघाउँछ । यसले एलडीएल कोलेस्ट्रोललाई कम गर्नुका साथै एचडीएल कोलेस्ट्रोलको प्रभावलाई बढाउँछ ।
यसमा भएका फाइबर, म्याग्नेसियम, भिटामिन-ई, फेनोलिक यौगिक र ट्यानिनले मधुमेहको खतरालाई कम गर्छ । जसले रगतमा ब्लड ग्लुकोज र इन्सुलिनको स्तरको एक्कासि वृद्धिलाई मन्द पार्छ ।
पाचनसम्बन्धी विकारमा समेत कोदो उपयोगी मानिएको छ । यसले गर्दा ग्यास्ट्रिक अल्सर र कोलोन क्यान्सरको सम्भावनामा समेत कमी आउँछ । यसमा भएको रेसाले कब्जियत तथा अत्यधिक ग्यासलाई दूर गर्छ ।
यो रेसाले गहुँ र मकैको आटा सेवन गर्नेहरूको दाँजोमा इसोफेजियल क्यान्सर हुने सम्भावनामा समेत कमी ल्याउँछ । कोदोको नियमित उपयोगले क्यान्सरको जोखिमलाई समेत कम गर्न सक्छ ।
हालै गरिएको अध्ययनले कोदोमा हुने रेसाले महिलामा स्तन क्यान्सरको सम्भावनालाई कम गर्छ । दिनहुँ ३० ग्राम रेसा उपयोग गरेर स्तन क्यान्सरको सम्भावना ५० प्रतिशतसम्म कम गर्न सकिन्छ । कोदोमा भएका उपयोगी तत्त्वहरूले विभिन्न क्यान्सरको जोखिम कम गर्छन् ।
@अनलाइनखबर