Wednesday, December 25

मानव सेवा आश्रमको भवन बनाउन सुर्खेतमा महायज्ञ हुने

२९ कात्तिक, सुर्खेत । आश्रयविहीनहरुलाई आश्रय दिँदै आएको मानव सेवा आश्रमको कर्णाली प्रदेश स्तरीय भवन निर्माणका सुर्खेतमा महायज्ञ आयोजना गरिएको छ ।

आश्रमले आगामी मंसिर २१ गतेदेखि २८ गतेसम्म वीरेन्द्रनगरको खुल्लामञ्चमा महायज्ञ आयोजना गरेको हो ।

आश्रमलाई भवन निर्माणका लागि वीरेन्द्रनगर नगरपालिका–११, स्थित गंगामाला धार्मिक वन तथा देउती बज्यै सामुदायिक वन समितिले २९ विघा जग्गा दिएको छ । महायज्ञ मूल आयोजक समितिका संयोजक डा. नवराज केसीका अनुसार त्यहाँ भवन निर्माणका लागि महायज्ञबाट ५ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएको छ ।

आश्रमको भवन निर्माणका लागि ८ देखि १० करोड रुपैयाँ लाग्ने अनुमान छ । ‘सरकारको पुँजीले मात्र भवन निर्माण सम्भव छैन । समाजको पुँजी पनि यसमा लाग्नुपर्छ’, बिहीबार महायज्ञबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा केसीले भने, ‘हामीलाई पैसा मात्र होइन, सेवा गर्ने हातहरू पनि चाहिएको छ । सबै कर्णालीवासीलाई जोडिन आग्रह छ ।’

मानव सेवा आश्रम कर्णालीको थ्रीडी नक्शा ।
भवनमा सडक आश्रित मानवको उद्धार गरेर राख्ने मात्र नभई मानव सेवा बुझाउने मानवता अध्ययन केन्द्रको स्थापना गरिने संयोजक केसीले बताए । कर्णाली प्रदेश सरकारले पनि भवन निर्माणका लागि चालु आर्थिक वर्षको बजेटमा १ करोड रुपैयाँ दिने घोषणा गरेको छ ।

सात दिने महायज्ञमा भागवत भाष्कर कमलनयन गौतम प्रमुख कथावाचक रहने र सबै धर्म तथा परम्पराका पण्डित, गुरुहरूको सामूहिक उपस्थिति, राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति, नाटक, झाँकी प्रदर्शन लगायतका कार्यक्रमहरू रहने छन् ।

०६९ सालमा स्थापना भएको आश्रमले हालसम्म देशभरका १० हजार ६ सय ८९ जना भन्दा बढी सहयोगाक्षेपी सडक मानवको उद्धार गरी व्यवस्थापन गराइसकेको छ । आश्रमले सातवटै प्रदेशमा गरी १९ जिल्लामा २४ वटा सेवा केन्द्रमार्फत सेवा दिँदै आएको छ ।

२०७५ माघ १८ गतेदेखि सुर्खेतको वीरेन्द्रनगर नगरपालिका—१२ मा आश्रमले भाडाको घरबाट सेवा दिँदै आएको छ । हालसम्म ४०६ जना बेसहारालाई उद्धार गरिएको आश्रमले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *