७ मंसिर, काठमाडौं । धितोपत्रमार्फत गैरआवासीय नेपाली (एनआरएन)को लगानी भित्र्याउन नेपाल धितोपत्र बोर्डले नीतिगत व्यवस्था गरेको छ । इन्भेष्टमेन्ट कम्पनीमार्फत गैरआवासीय नेपालीको लगानी भित्र्याउनका लागि धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका संशोधन भएको हो ।
सरकार र एनआरएनको संयुक्त लगानीमा इन्भेस्टमेन्ट कम्पनी खुल्नेछन् । तिनै इन्भेस्टमेन्ट कम्पनीले धितोपत्र बोर्डबाट अनुमति लिएर एनआरएनका लागि नै सेयर जारी गर्न पाउने व्यवस्था निर्देशिकामा समेटिएको हो ।
सरकार र एनआरएनको संयुक्त लगानीका इन्भेस्टमेन्ट कम्पनीले ४९ प्रतिशतभन्दा बढी र १० प्रतिशतभन्दा घटी नहुनेगरी अरु गैरआवासीय नेपालीका लागि सेयर जारी गर्न सक्छन् ।
‘गैरआवासीय नेपालीकै सेयर लगानीमा इन्भेष्टमेन्ट कम्पनी खुल्छन् र ती कम्पनीले नेपालका विभिन्न पूर्वाधार तथा आयोजनामा लगानी गर्छन्’ बोर्डका कार्यकारी निर्देशक नवराज अधिकारीले भने ‘यही व्यवस्थाका लागि निर्देशिका संशोधन गरिएको हो ।’
यस्ता कम्पनीले प्रिमियममा सेयर निष्कासन गर्न नपाउने व्यवस्था निर्देशिकामा गरिएको छ । त्यस्तै सेयर निष्कासन गर्नुपूर्व यस्ता कम्पनी नेपाल धितोपत्र बोर्डमा दर्ता हुनुपर्नेछ । कम्पनी दर्तापछि मात्रै गैरआवासीय नेपालीका लागि सेयर निष्कासन गर्न सक्नेछन् ।
सेयर निष्कासनका लागि कम्पनीको विवरणपत्र स्वीकृतिको लागि विवरणसहित निवेदन दिनुपर्ने, ती विवरणपत्र बोर्डले जाँचबुझ गर्ने र सबै कागजात तथा प्रक्रिया पूरा भएकालाई स्वीकृति प्रदान गर्ने अधिकारीले बताए ।
बोर्डको स्वीकृति पश्चात कम्पनीले एनआरएनलाई नै सेयर निष्कासनका लागि दरखास्त खुला गर्छन् । ‘दरखास्त खुला रहने अवधि कम्तीमा ४ दिन हुनेछ’ निर्देशिकामा भनिएको छ ‘तोकिएको अवधिभित्र सबै सेयर बिक्री नभएमा कम्पनीले बढीमा १५ दिनका लागि दरखास्त खुला राख्न सक्नेछ ।’
एनआरएनले मात्रै यसमा आवेदन दिन पाउँछन् । न्यूनतम १ हजार कित्ता र सोको गुणांकमा आवेदन दिन सक्ने व्यवस्था गरिएको छ । उनीहरुलाई सेयर बाँडफाँट भइसकेपछि ती सेयर डिम्याट हुनेछन् ।
गैरआवासीय नेपालीले डिम्याट खाता खोल्न सक्ने र त्यसका प्रक्रिया पनि निर्देशिकामा समेटिएको छ । नेपाल सरकारसँगको सहकार्यमा एउटा एनआरएनए डेभलपमेन्ट फन्ड स्थापना भइसकेको छ ।
यसरी सेयर जारी पछि संकलन हुने रकमबाट कम्पनीले विभिन्न पूर्वाधारहरुमा लगानी गर्ने एनआरएनए डेभलपमेन्ट फन्डका प्रमुख कार्यकारी अधिकृत अनलराज भट्टराईले बताए ।
सरकारको प्राथमिकतामा परेका क्षेत्रभित्र रहेर सम्भाव्य आयोजनामा कम्पनीले लगानी गर्नेछ । कम्पनीले सम्भाव्यता अध्ययन तथा लगानीका लागि सरकारलाई उपयुक्त सुझाव समेत दिनेछ ।
संयुक्त लगानीको इन्भेष्टमेन्ट कम्पनीले निष्कासन गरेको शेयरको कारोबार प्रणाली धितोपत्र बजारले व्यवस्था गरे बमोजिम हुने उल्लेख गरिएको छ । अर्थात् दोस्रो बजारमा पनि एनआरएनबीच मात्रै यी कम्पनीको सेयर कारोबार हुनेछ । न्यूनतम १ हजार कित्ता कारोबार हुनेछ ।