Wednesday, December 25

सानो गौचरनमा थालियो १५ सय दर्शक क्षमताको रंगशाला पुनःनिर्माण

१३ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिकाले सानो गौचरन स्टेडियम (रंगशाला) को पुनःनिर्माण थालनी गरेको छ । उपप्रमुख सुनिता डंगोलले बिहीबार पुनःनिर्माणको शिलान्यास भएसँगै कामको थालनी भएको महानगरपालिकाले जनाएको छ ।

२२ करोड ९५ लाख ९३ हजार ९९९ लागत अनुमान गरिएको काम गर्न आह्वान भएको बोलपत्रबाट १८ करोड ८६ लाख ७४ हजार ८२७ रुपैयाँ कबोल गरेर शुभ कन्स्ट्रक्सनले पुनःनिर्माणको जिम्मेवारी पाएको छ ।

स्टेडियम पुनःनिर्माणको शिलान्यास गर्दै महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले महानगरपालिकाले खेल पूर्वाधारमा लगानी बढाएको जिकिर गरिन् । ‘सन्तुलित विकासका लागि भौतिक निर्माणसँगै आर्थिक र सामाजिक विकास सँगै लैजानुपर्छ । यस क्रममा खेलकुदलाई विकासको आयामसँगै अगाडि लैजाने कार्यक्रमअन्तर्गत स्टेडियम पुनःनिर्माण गर्न लागेका हौँ,’ उनले भनिन् ।

वडामा स्टेडियम पुनःनिर्माणले स्थानीय विकासलाई उचाइमा लैजाने वडा नं. ५ का अध्यक्ष वीरेन्द्र प्रजापतीले धारणा व्यक्त गरे । ‘टोलहरू र चोकहरूमा मौलिक खेल पुनरुत्थान गरिरहेका छौँ । यहाँ व्यवस्थित फुटबल ग्राउण्ड निर्माण हुन्छ । भत्केको पुलमा करिब ५ रोपनी क्षेत्रफल जमिनमा बास्केटबल, टेबुलटेनिस, व्याटमिन्टन र फुटसलका लागि पूर्वाधार तयार गरिरहेका छौँ,’ वडाध्यक्ष प्रजापतीले भने ।

स्टेडियममा ९६×६२ मिटरको खेल मैदान हुनेछ । मैदानमा आकाशे पानी निकास प्रणालीसहितको कृत्रिम घाँस राखिनेछ । वरिपरि सिमा पर्खाल हुनेछ । यसमा २८ वटा चार पाङ्ग्रे र १७८ वटा २ पाङ्ग्रे सवारी साधन अट्ने क्षमताको पार्किङ हुने जानकारी महानगरले गराएको छ ।

स्टेडियमको भुइँ तलामा महिलाका लागि २३ वटा र पुरुषका लागि १६ वटा शौचालय हुनेछन् । पहिलो तलामा ७ वटा महिलाका लागि र ५ वटा पुरुषका लागि शौचालय हुनेछन् । स्टेडियममा एउटा फिजियोथेरापी कक्ष, ३ वटा पुरुषका लागि ३ वटा महिलाका लागि गरेर ६ वटा कपडा फेर्ने कोठा, एउटा प्राथमिक उपचार कक्ष र २ वटा टिम लकर हुनेछन् ।

निर्माण कार्यको सार्वजनिक खरिदका लागि २०८१ वैशाख ३ गते सार्वजनिक सूचना जारी भएको थियो । यसबाट १६ जना आवेदकले प्रस्ताव पेश गरेका थिए । छनोट भएको निर्माण पक्षलाई कार्तिक २५ गते कार्यादेश दिइएको छ । यो काम २०८२ चैत मसान्तभित्र सम्पन्न गरिसक्नुपर्नेछ ।

रंगशाला १८ रोपनी १ आना २ पैसा ३ दान (९२११.५ वर्गमिटर) क्षेत्रफलमा निर्माण हुनेछ । यसमा दर्शक क्षमता १ हजार ५ सय जनाको हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *