१० पुस, काठमाडौं । रत्न राजमार्गको कोहलपुर–सुर्खेत–बाङ्गेसिमल (९०.७५ किलोमिटर) सडक स्तरोन्नति हुने भएको छ । यो खण्डले बाँके, बर्दिया र सुर्खेत जिल्ला छोएको छ ।
सडक विभागले यस राजमार्गको स्तरोन्नति प्रयोजनका लागि वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन वन तथा वातावरण मन्त्रालयमा पेस गरेको छ ।
प्रस्तावित सडक खण्ड स्तरोन्नतिका लागि सडकको क्षेत्राधिकार भित्र नै आयोजनालाई आवश्यक पर्ने जमिन रहेका कारण थप जग्गा भने अधिग्रहण गर्नु नपर्ने प्रतिवेदनमा उल्लेख छ ।
यो आयोजनाको कुल लागत ६ अर्ब ५० करोड अनुमान गरिएको छ । सडक चार वर्षभित्र निर्माण सक्ने लक्ष्य रहेको समेत प्रतिवेदनमा उल्लेख छ ।
यो सडकको विद्यमान चौडाइ ५.५ मिटर छ । यसलाई स्तरोन्नति गरी अब ७ मिटर पुर्याइने छ । स्तरोन्नतिपछि सडक दुई लेन कालोपत्र बन्ने छ । यस सडक खण्डमा विभिन्न स्थानमा भत्कने समस्या समेत रहेको र दुईतर्फी सवारी सञ्चालनमा बाधा उत्पन्न भएसँगै सरकारले यो राजमार्ग स्तरोन्नति गर्ने योजना बनाएको हो ।
आयोजनाभित्र ३८ वटा पुल जीर्ण अवस्थामा रहेको र यसलाई आयोजनाले स्तरोन्नति गर्ने भएको छ । यो सडक आयोजनाले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरलाई लुम्बिनी प्रदेशको व्यापारिक सहर नेपालगञ्ज र अन्य प्रमुख सहरसँग जोड्छ ।
यस सडक खण्डभित्र बाँके राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र, बाँके राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र र बर्दिया राष्ट्रिय निकुञ्जको क्षेत्र पनि पर्छ । साथै, ७६.७५ किलोमिटर चुरे क्षेत्र पर्छ ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत कोहलपुर चोकबाट सुरु हुने यो राजमार्गको अन्तिम बिन्दु सुर्खेत वीरेन्द्रनगरस्थित बाङ्गेसिमल हो । आयोजना कार्यान्वयनका बेला सामुदायिक वनमा ४ हजार ३ सय ४८ र राष्ट्रिय निकुञ्जमा ६ हजार ५ यस ३८ रुख काट्नुपर्ने देखिएको छ । यसरी कुल १० हजार ८ सय ८६ रुख काट्नुपर्ने प्रतिवेदनमा उल्लेख छ ।