Saturday, January 4

ऋषि धमलाले भने : नवराज अर्यालले झुठ बोलेको देखियो, के गर्ने छलफल गर्दैछौं

२८ कात्तिक, काठमाडौं । आफूलाई निर्मला हत्या प्रकरणको प्रत्यक्षदर्शी बताउने नवराज अर्यालको दाबी गलत देखिएको भन्दै केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पत्रकार ऋषि धमलासँग सोधपुछ गरेको छ ।

लाजिम्पाटस्थित सीआईबीमा पुगेर धमलाले आफूलाई अर्यालले एक महिनादेखि अन्तरर्वार्ता लिइदिन भनेको बताएका छन् ।

‘ऊ अन्तरर्वार्ता लिइदिनु भन्दै एक महिनासम्म धाएको थियो, अझ रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्छु भनेको थियो’, सीआईबीबाट धमलाले अनलाइनखबरसँग भने, ‘उहाँ टेलिभिजनमा पनि नियमित आउनुभयो, त्यसक्रममा मन्त्रीहरुको ड्राइभर भएको नाताले कुराकानी सुरु गर्‍यौं, उहाँले पीडित भएँ भन्नुभयो।’

त्यसक्रममा पीडा के हो भन्नेबाट कुराकानी सुरु गर्दा पछि उनले निर्मला हत्या प्रकरणको समेत कुरा गरेको धमलाले बताए । ‘त्यसक्रममा मैले उहाँलाई कसरी साक्षी हो भन्दा विभिन्न विषयहरु बताउनुभएको थियो, अहिले भ्रमण फैलाउने काम भयो भन्ने आएको छ’, उनले थपे, ‘कञ्चनपुर गएको भनेर आईडीकार्ड पनि देखाएपछि मलाई विश्वास भएको थियो ।’

प्रहरीले अनुसन्धानले समेत अहिले नवराज अर्यालले भनेको बयान मिलेको नदेखिउको भन्दै उनले भने, ‘उसले किन झुठो बोल्यो र अब के गर्नेभन्नेमा छलफल गरिरहेका छौं ।’

ब्यूरोका एसपी होविन्द्र बोगटीले भने धमलाले पहिले प्रमाण जाँच नगरी अन्तरर्वार्ता प्रशारण गर्नु गल्ती भएको बताएको उल्लेख गरेका छन् । उनले भने, ‘राष्ट्रिय स्वार्थको कुरा भएकाले केही आउँछ कि भन्ने कुराले अन्तरर्वार्ता लिएँ भन्नुभएको छ, त्यसक्रममा कमजोरी भएको उहाँको भनाइ छ ।’

सीआईबीले अन्तर्वार्ता दिने नवराज अर्याललाई भने पक्राउ गरेको छ । उनले कसैको उक्साहटमा त्यस्तो बयान दिए कि अरु के कारण थियो भन्नेबारे अनुसन्धान गरिने एसपी बोगटीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *