Sunday, December 22

नोक्सानीमा रहेको लिबर्टी इनर्जीको हकप्रद सेयरमा १६ गतेदेखि आवेदन खुल्ने

७ मंसिर, काठमाडौं । लिबर्टी इनर्जी कम्पनीको हकप्रद सेयरमा मंसिर १६ देखि आवेदन खुल्ने भएको छ । कम्पनीले ५० प्रतिशत अर्थात् १ सय बराबर ५० कित्ताका दरले हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।

हाल कायम चुक्ता पूँजी १ अर्ब ५० करोड छ । हकप्रद निष्कासनपछि ७५ करोड थप हुनेछ । हकप्रद सेयरमा पुस ७ गतेसम्म आवेदन दिन सकिनेछ ।

हकप्रद निष्कासनबाट प्राप्त रकमबाट माथिल्लो दोर्दी ए जलविद्युत् आयोजनाको ऋण रकम ५५ करोड ४४ लाख रुपैयाँ भुक्तानी गर्ने, सो आयोजना निर्माणका लागि भएको खर्चको बाँकी रकम १५ करोड ३२ लाख रुपैयाँ भुक्तानी गर्ने कम्पनीले जनाएको छ ।

तर ऋणा भुक्तानी हुने पक्ष भने कम्पनीले खुलाएकै छैन । यो आयोजनाको प्रतिमेगावाट लागत नै २५ करोड २५ लाख रुपैयाँ छ । यसको डिस्काउन्टेड लगानी फिर्ता अवधि २७.४९ वर्ष छ । बाँकी ४ करोड २४ लाख रुपैयाँ कम्पनीद्वारा प्रवद्र्धित लोदोखोला साना जलविद्युत् आयोजनामा लगानी गर्ने कम्पनीले जनाएको छ ।

त्यति मात्रै होइन, लिबर्टी इनर्जी अहिले पनि नोक्सानीमा भएको कम्पनी हो । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा यो कम्पनी पनि नोक्सानीमा छ । कम्पनीले पहिलो त्रैमासमा ३ करोड ६३ लाख रुपैयाँ नोक्सानी ब्यहोरेको छ । पहिलो त्रैमासमा मात्रै प्रतिसेयर आम्दानी २ रुपैयाँ ४२ पैसा ऋणात्मक छ । यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता २२३ रुपैयाँ ५० पैसा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *