१८ मंसिर, काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र चिनियाँ उपप्रधानमन्त्री दिङ छुयस्याङबीच भेटवार्ता भएको छ ।
चीन भ्रमणमा रहेका पूर्वप्रधानमन्त्री समेत रहेका नेता खनालले बइजिङमा सोमबार भएको भेटवार्ताका क्रममा खुला समाजवादी आधुनिकीकरणको विषयमा छलफल भएको उनको सचिवालयले जनाएको छ ।
पूर्वप्रधानमन्त्री समेत रहेका खनालले छलफलका क्रममा उपप्रधानमन्त्री छुयस्याङसँग बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) र नेपाल–चीनबीच रेल्वे निर्माणसहितको ट्रान्स हिमालयन कनेक्टिभिटी निर्माण सन्दर्भमा छलफल भएको छ ।
उपप्रधानमन्त्री छुयस्याङले चीनमा समाजवादी व्यवस्थाभित्र सुधारको प्रक्रिया सुरु भएको र ४६ वर्षमा कसरी समृद्धितर्फ अघि बढायो भन्नेबारेमा प्रकाश पारेको नेता खनालको सचिवालयले बताएको छ ।
चिनियाँ उपप्रधानमन्त्रीले सुधारको नीति र आधुनिकीकरणको प्रक्रियाबाट चीनले गरेका विकासबारे बताएका थिए ।
चिनियाँ उपप्रधानमन्त्रीले सधैँ साना र मझौला मुलुकहरूको राष्ट्रिय स्वतन्त्रता र सार्वभौमसत्ताको पक्षमा चीन रहेको पनि बताएका छन् ।
छलफलमा नेपाल, पाकिस्तान, इजिप्ट, बेल्जियम, अष्ट्रेलिया लगायत देशका पूर्व प्रधानमन्त्री साथै इथियोपियाका पूर्वराष्ट्रपति र विभिन्न मुलुकका वरिष्ठ राजनीतिक नेताहरू सहभागी थिए ।