Tuesday, January 7

भारतमा भेटियो एचएमपीभी भाइरस

नयाँ दिल्ली । चीनलाई आतंकित बनाइरहेको एचएमपीभी भाइरस भारतमा पनि देखापरेको छ । भारतमा आठ महिनाको एक बच्चामा एचएमपीभीको संक्रमण देखिएको हो । भारतमा पहिलो पटक यो भाइरसको मामिला देखिएको हो ।
बैंगलुरुको एक निजी अस्पतालमा आठ महिनाको बच्चामा ह्युमन मेटाप्युमोभाइरस (एचएमपीभी)को पुष्टि भएको छ । अचम्मको कुरा चाहि के छ भने ती बच्चा भारत बाहिर कतै गएका थिएनन् । अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बालकको शरीरमा एचएमपीभी भाइरस भएको पुष्टि भएको हो । कर्नाटक स्वास्थ्य विभागले केन्द्र सरकारलाई यो जानकारी दिएको हो ।

अलर्ट मोडमा भारत

चीनमा एचपीएमभी भाइरस सुरु भएदेखि नै भारत सरकार अलर्ट मोडमा छ । महाराष्ट्रको स्वास्थ्य विभाग अलर्टमा छ । केरला र तेलंगानाका सरकारले पनि चीनमा भाइरल ज्वरो र श्वासप्रश्वासको संक्रमण ठूलो मात्रामा फैलिएको समाचारलाई नजिकबाट नियालिरहेको र अहिले आत्तिनुपर्ने अवस्था नरहेको बताइरहेको छ । रुघाखोकीका बिरामीको नियमित सर्भे गर्न अधिकारीहरूलाई निर्देशन दिइएको छ । सरसफाइको नियम पालना गर्न पनि निर्देशन दिइएको छ ।

के हो एचएमपीभी भाइरस ?

ह्युमन मेटाप्युमोभाइरस एउटा आरएनए भाइरस हो । एक तरिकाले यो कोरोना जस्तै भाइरस हो । यो पनि श्वास प्रश्वासमा संक्रमण गर्ने भाइरस हो । यो मौसमी भाइरस पनि हो । यसको प्रभाव सामान्यतयाः जाडो र वसन्तमा बढी देखिन्छ । यो फ्लू जस्तै छ । चीनमा यो भाइरसले अहिले खतरनाक रुप लिइरहेको भन्दै समाचारहरू आइरहेका छन् । तर चीन सरकारले यो खबरको खन्डन गरिरहेको छ ।

यो नयाँ भाइरस भने होइन । सन् १९५८ देखि यो भाइरस पृथ्वीमा रहेको अनि वैज्ञानिकहरूले पहिलो पटक सन् २००१ मा यसलाई पत्ता लगाएका थिए । अहिलेसम्म यो भाइरस विरुद्धको खोप बनेको छैन । यो भाइरसले प्रायः बालबालिका र वृद्धवृद्धालाई आक्रमण गर्छ । यसले श्वासप्रश्वास र फोक्सोको नलीमा संक्रमण गर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *