Monday, January 13

राष्ट्रपतिले सिंहदरबारभित्र बनिरहेको संसद् भवन अवलोकन गर्दै

२९ पुस, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज सिंहदरबार परिसरभित्र निर्माणाधीन संसद् भवन अवलोकन गर्दै छन् । त्यसका लागि उनी दुई बजे सिंहदरबार आउने कार्यक्रम छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ साल असोज १ गते सिंहदरबार परिसरभित्र नयाँ संसद् भवन शिलान्यास गरेका थिए । तीन वर्षमा निर्माण सम्पन्न गर्ने भनिएको संसद भवन अझै बनिसकेको छैन ।

भ्याट बाहेक ६ अर्ब ९२ करोड रुपैयाँमा भवन निर्माण गर्ने ठेक्का टुन्डी शेक जेभीले पाएको छ ।

सम्झौताअनुसार १५ असोज २०७९ मा संसद भवन तयार भइसक्नुपर्ने थियो । तर कोराना महामारीको समयमा काम रोकिएपछि निर्माण व्यवसायीले थप ६ महिनाको समय पाएको थियो । त्यसअनुसार उसले ३० चैत २०७९ मा काम सक्नुपर्ने थियो । तर गत वैशाखमा फेरि ६ महिना म्याद थप गर्दै आउँदो २८ असोजभित्र काम सक्नुपर्ने गरी समय दिइएको थियो ।

२०८१ साउनमा सहरी विकासमन्त्री प्रकाशमान सिंहले निर्माणाधीन भवनको निरीक्षण गर्दै नौ महिनाभित्र काम सक्न ठेकेदार कम्पनीलाई निर्देशन दिइएको बताएका थिए । तर काममा अझै पनि सन्तोषजनक प्रगति भएको छैन ।

सिंहदरबारभित्रको संसद भवन निर्माणमा ढिलाइ हुँदा सरकारले नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई भाडामा लिएर संसद चलाउँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *