Monday, January 13

राष्ट्रिय जनसंख्या नीति परिमार्जन गर्न मस्यौदा बनिसक्यो : स्वास्थ्य मन्त्रालय

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले राष्ट्रिय जनसंख्या नीति परिमार्जन गर्ने तयारी गरेको छ । सोमवार राष्ट्रिय सभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति बैठकमा मन्त्रालयका सचिव डा. रोशन पोखरेलले राष्ट्रिय जनसंख्या नीति परिमार्जनको लागि मस्यौदा बनिसकेको बताए ।

उनले राष्ट्रिय जनसंख्या नीति परिमार्जन गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै मस्यौदालाई छलफलको लागि छिट्टै संसदीय समितिमा पठाइने बताए । उनले आमा सुरक्षा योजनालाई सरकारको मुख्य कामका रुपमा अघि बढाइएको बताए । उनले आमाको दुधबाट वञ्चित बच्चाका लागि भण्डारण गरिएको दुध खुवाउन मिल्क बैंक स्थापना गरिएको समेत बताए ।

उनले अन्य प्रादेशिक अस्पताल र निजामति अस्पतालहरुमा समेत मिल्क बैंक स्थापना गर्नेबारे राज्यले सोच्नुपर्ने बताए । उनले स्वास्थ्य बीमामा नविकरण नभएको कारण मन्त्रालयलाई औषधि व्यवस्थापनमा समस्या भइरहेको समेत बताए । उनले बीमामार्फत औषधि दिँदा समस्या आउने गरेको उल्लेख गर्दै नीतिगत रुपमै औषधि बिमाबाट दिने कि नदिने भन्ने विषयमा छलफल हुनुपर्ने बताए ।

उनले भने, ‘राष्ट्रिय जनसंख्या नीति परिमार्जन गर्न मस्यौदा बनिसकेको छ । त्यो मस्यौदा छलफलका लागि हामीले समितिमा पनि पठाउनुपर्ने हुन्छ । हामी त्यसलाई छलफलका लागि छिट्टै समितिमा पठाउँछौं । त्यसैगरी आमा सुरक्षा कार्यक्रमलाई हामीले सरकारको मुख्य कार्यक्रममा रुपमा राखेका छौं भने मिल्क बैंक स्थापना गरेका छौं ।’

उनले भने, ‘निजामति र प्रादेशिक अस्पतालमा बनाउन सक्ने हो भने राज्यले बोल्नुपर्ने हुन्छ । स्वास्थ्य मन्त्रालयले यस विषयमा केही पनि बोल्दैन । त्यसैगरी ऐन निर्माणका क्रममा समितिमा छलफल भएन भन्ने गुनासो आएको छ । यसमा हामी सुधार गर्छौं । स्वास्थ्य बीमामा नविकरण नभएको कारणले हामीले औषधिको राम्रोसँग व्यवस्थापन गर्न नसकेर हो । यसलाई नीतिगत रुपमै पनि औषधि बीमाबाट दिने कि नदिने भन्ने कुरामै पनि बहस हुनुपर्छ भन्ने मलाई लाग्छ । किनभने गलत औषधि नाफाको लागि प्रयोग गर्ने गरेको हामीले भेटेका छौं । मानसिक स्वास्थ्यका लागि नर्सको कमी छ । त्यसलाई व्यवस्थापन गरेर अघि बढ्नको लागि हामी लागिपरेका छौं ।’

बैठकमा सोमवार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग छलफल गरेको हो । छलफल मन्त्रालयका सचिव डा. पोखरेल देशभरको स्वास्थ्य सेवाको अवस्था सुधार्नको लागि मन्त्रालय प्रयत्नरत रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *